Techie IT
Samayabaddha
शनिबार, ७ भदौ, २०८२

विपिन जोशीका आमा र बहिनीका पीडा र आशाको कथा


सीता अधिकारी

२२ महिनादेखि प्यालेटिनी लडाकु समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी र उद्धारको पहलका लागि यतिबेला उनकी आमा पद्मा र बहिनी पुष्पा इजरायलमा उपस्थित भएका छन् ।

इजरायलमा सयौंको संख्यामा नेपाली र हजारौं इजरायली सडकमा उत्रिएर विपिन रिहाइका लागि पहल गरेका छन् ।

आमा र बहिनीलाई अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन संयुक्त राष्ट्रसंघसम्म लैजाने गरि इजरायल सरकारले बोलाएको हो ।

२०२३ अक्टोबर ७ मा इजरायलमाथि हमासको हमलामा परि कयौ इजरायली नागरिक लगायत विदेशि नागरिकहरुलाई हमासले बन्धक बनाएको थियो । सो हमलामा सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका ४९ नेपाली मध्ये १० विद्यार्थीको मृत्यु भएको थियो ।

विपिनले साथीहरुको ज्यान बचाउन हमलाको क्रममा हमासद्वारा फालिएको ग्रेनेडलाई गोदामबाट बाहिर फ्यालेका थिए । सोही कारण उनलाई हमासले बन्धक बनाएको हो । हमासको कब्जामा परेका विपिन मात्र एक नेपाली हुन् ।

प्रारम्भिक खोजीमा उनको नाम घाइते वा मृतक सूचीमा नपरेपछि परिवार र सम्पूर्ण नेपाल निरन्तर उनको प्रतीक्षामा रह्यो । तर सरकार र अन्तर्राष्ट्रिय निकायको सक्रियताले समेत ठोस नतिजा दिन सकेन ।

कतारको मध्यस्थतामा इजरायल र हमासबीच अस्थायी युद्धविराम र बन्दी साटफेर सम्झौता भएको थियो । यतिबेला केही विदेशी र इजरायली नागरिकलाई रिहा गरे पनि त्यस सूचीमा विपिन पर्न सकेनन् । नेपाल सरकारको ठोस र परिणाममुखी पहलकदमी नै पुगेन ।

आजसम्म विपिनको अवस्थाबारे कुनै नयाँ जानकारी प्राप्त भएको छैन । तर इजरायली अधिकारीहरुले विपिन जीवित रहेको पुष्टि गरेका छन् ।

यही पृष्ठभूमिमा विपिनका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी हाल विपिनको खोजी अभियानमा प्रत्यक्ष सहभागी हुन इजरायल पुगेका छन् ।

विपिन जोशीको रिहाइका लागि संयुक्त राष्ट्र संघमा पहल गर्ने उद्देश्यले उनको आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीलाई अहिले इजरायल लगिएको हो ।

उनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले आईतबार इजरायली राष्ट्रपति आइज्याक हेर्जोगसँग भेट गरी हमासको कब्जाबाट मुक्त गर्न पहलको लागि आग्रह गरेका छन् ।

नेपाली राजदूत धनप्रसाद पण्डितको साथमा पुगेका आमा पद्मा र बहिनी पुष्पाले जेरुसेलममा भएको शिष्टाचार भेटका क्रममा विपिन निर्दोष विद्यार्थी भएको उल्लेख गर्दै छोराको जीवन रक्षा र तत्काल रिहाइका लागि इजरायली राष्ट्रपतिलाई अनुरोध गरिन् ।

बहिनी पुष्पाले समेत आफ्नो दाजु निर्दोष भएको स्मरण गराउँदै कुनै पनि बहानामा ढिलाइ नगरिकन बन्धक अवस्थाबाट मुक्त गर्न विशेष अपिल गरेकी छन् ।

इजरायली सरकारको विशेष निमन्त्रणामा उनीहरूलाई दस दिनको भ्रमणका लागि तेल अविव लगिएको हो । परिवारले आफैं उपस्थित भई छोरा–दाजुको अवस्थिति बारे प्रत्यक्ष जानकारी लिने र अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न सक्ने विश्वास राखेर इजरायल सरकारले उनीहरुलाई त्यहाँ लगेको हुनपर्छ ।

आमा पद्माले आफ्नो पीडा व्यक्त गर्दै भनिन्, “आजसम्म सरकार र दूतावासले खोजी गरिरहेका छन् तर ठोस परिणाम आएन । आमाको मुटु भने अझै छोरो बाँचिरहेको छ भन्ने विश्वासले धड्किरहेको छ ।”

जोशी परिवारको उपस्थितिले इजरायली सञ्चारमाध्यममा ठूलो ध्यान खिचेको छ । इजरायली मिडियाले जोशीकी आमा र बहिनीलाई ठूलो स्थान दिइरहेका छन् । त्यहाँका सरकारी र गैर सरकारी मिडियामार्फत ‘विपिन निर्दाेश एक विद्यार्थी हो उसलाई छोडिदिऊ हमास’ भन्दै रुदै गरेको आमाको अवस्थाले धेरैलाई चिन्तित बनाएको छ ।

विपिन जोशीको रिहाइको माग गर्दै शनिबार इजरायलको तेलअभिभ शहरमा नेपाली समुदायले प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनमा विपिनकी आमा र बहिनी विपिनको फोटो भएको प्लेकार्डसहित सहभागी भए ।

इजरायली अधिकारकारकर्मी र मानवअधिकारकर्मीसमेत रहेको प्रदर्शनमा विपिनकी बहिनी पुष्पाले भावुक हुँदै सम्बोधन गरेकी थिइन् । उनले भनिन्, ‘दादा आई मिस यू सो मच । म तेरो न्यानो अँगालो, आवाज सबैलाई धेरै मिस गर्छु ।’

पुष्पाले पढ्नका लागि आउनुभएका दाजुको कसैसँग दुश्मनी नभकाले छाडिदिन आग्रह गरिन् । दाजुको अवस्थाका कारण बुवाआमासहित आफ्नो परिवार विक्षिप्त बनेको उनले सम्बोधनमा उल्लेख गरिन् । बहिनी पुष्पाले दादालाई लिन धेरै टाढाको देश नेपालबाट आएको भन्दै सहयोगको अपिल गरिन् । आमा पद्माले छोरालाई मुक्त गराएर सँगै घर पठाइदिन अनुरोध गरिन् ।

बहिनी पुष्पाले विपिनको रिहाईको माग गर्दै इजरायलमा भएको प्रदर्शनमा गरेको संम्बोधनले सबैलाई रुवाइरहेको छ ।

इजरायलमा भएका नेपालीहरु धेरै टाढाबाट विपिनको रिहाइका लागि तेलअभिभ प्रदर्शनमा आएको इजरायलमा रहेकी नेपाली सुनिता गुरुङले बताएकी छन् ।

स्थानीय नागरिकहरूले समेत विपिनलाई “हाम्रो भाई” भन्दै समर्थन जनाएका छन् ।

युद्धकै त्रासदीबीच एउटा नेपाली युवकको जीवनमरणसँग सम्बन्धित यो कथा इजरायलका सामान्य मानिसहरूको संवेदनासँग गाँसिएको छ । यसले परिवारलाई केही आशा र साहस दिएको छ ।

विपिनको सकुशल मुक्तिको आशाको धागोमा बाँधिएर आमा र बहिनी हजारौं किलोमिटर टाढा पुगेर विपिनको जीवनको याचना गरिरहँदा नेपालको सरकार टुलुटुलु हेरेर बसिरहेको छ । उनीहरूको इजरायल यात्राले अब नेपाल सरकारले केही गम्भीर भएर चासो देखाउनुपर्ने दबाब बढाएको छ । नेपाली जनताले समेत विपिनको सुरक्षित फिर्ताका लागि निरन्तर स्वर बुलन्द गरिरहेका छन् ।

विपिनको आमा र बहिनीसँगको भेटमा राष्ट्रपति हेर्जोगले भने ‘नेपाल इजरायलको असल मित्र हो, विपिन आफ्नै नागरिकझै लाग्छ । उनको रिहाइका लागि मेरो सरकार र म निरन्तर प्रयासरत छौं ।’
नेपाली पक्षले पनि सम्बन्धित अरब मुलुकहरूसँग वार्ता अघि बढाउन सके सहयोगी हुने विश्वास उनले व्यक्त गरे ।

यसैबीच, जोशी परिवारले इजरायली संसद् (केनेस्सेट) अध्यक्ष आमिर ओहानासँग पनि भेट गरी विपिनको रिहाइका लागि जोड दिन आग्रह गरेका छन् । अध्यक्ष ओहानाले विपिनबारे निरन्तर चासो रहेको उल्लेख गर्दै भने, ‘नेपाल–इजरायलको सम्बन्ध न्यानो र मित्रवत छ, विपिनसहित सबै बन्धकहरूको रिहाइका लागि हामी सक्रियतापूर्वक लागिरहेका छौं ।’

नेपाली राजदूतावासका अनुसार आमा पदमा जोशी र बहिनी पुष्पा जोशी इजरायलको राजधानी जेरुसेलममा विभिन्न सरकारी उच्च पदस्थ पदाधिकारीहरूसँग भेटघाटमा संलग्न छन् । उनीहरूले विपिनको रिहाइका लागि निरन्तर अपिल गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट