शिवम् सिमेन्टको अनैतिक पाटो : व्यापारिक साझेदारलाई अश्लील शब्द र राजनीतिक धम्की
काठमाडौं । व्यापारिक सम्बन्धले कहाँ पुग्छ भन्ने उदाहरण हालसालै सार्वजनिक भएको एउटा घटनाले देखाएको छ । नेपालकै ठुला उद्योगमध्ये पर्नेको शिवम् सिमेन्ट र काठमाडौंस्थित इहब ट्रेडिङ प्रा.लि.बीच भएको विवाद सामान्य व्यापारिक व्यवहार भन्दा बाहिर गएर अश्लिल गालीगलौज र कानुनी मुद्दासम्म तानिएको छ ।
व्यवसाय सुरु हुँदा विश्वासको वातावरण
इहब ट्रेडिङले गोरखामा शिवम् सिमेन्ट बिक्री गर्दै आएको थियो । करिब २५ लाख रुपैयाँ बराबरको सिमेन्ट इहबले शिवम् सिमेन्टबाट लिएर बजारमा आपूर्ति गरेको कम्पनीका सञ्चालकको दाबी छ । व्यापारिक सुरुवातमा शिवम् सिमेन्टका प्रतिनिधिहरुले गुणस्तरबारे विश्वास दिलाउँदै कारोबार सहज हुने आश्वासन दिएका थिए । सुरुमा बैंक ग्यारेन्टी आवश्यक पर्ने बताए पनि पछि ‘खाली चेक’ धरौटीस्वरूप लिन प्रस्ताव गरिएको थियो । जुन त्यतिबेलाको प्रचलन अनुसार इहबले स्वीकार गरेको थियो ।
विवादको सुरुवात
व्यापारमा घाटा आएपछि इहबले सिमेन्ट आपूर्ति बन्द गर्नुपर्यो । त्यतिबेला शिवम् सँगको कारोबारमा करिब पाँच लाख ७२ हजार रुपैयाँ बाँकी थियो । उक्त रकम किस्ताबन्दीमा तिर्ने प्रस्ताव गर्दै इहबले दिएको चेक फिर्ता माग्दा विवाद सुरु भएको हो । इहबका दाबीअनुसार, शिवम् सिमेन्टका प्रतिनिधिहरुले राजनीतिक पहुँचको धम्की दिन थाले । फोन, वाट्सअप र टेलिग्राममार्फत सम्पर्क अस्वीकार गरे र अश्लिल गालीसम्म गर्न पुगे ।
गालीगलौज र धम्कीको आरोप–प्रत्यारोप
इहबका सञ्चालकका अनुसार, कम्पनीको कार्यालयमा समेत व्यापारिक वातावरण भन्दा भिन्न किसिमको धम्की र दबाब देखियो । उनले आफूसँग भएको च्याटमा शिवम् सिमेन्टका प्रतिनिधिबाट अश्लिल गाली प्राप्त भएको प्रमाणका रूपमा प्रस्तुत गरेका छन् । तर शिवम् सिमेन्टका विक्री तथा बजार व्यवस्थापन प्रमुख निखिल अग्रवाल भने उल्टै आफूलाई नै धम्की आएको बताउँछन् ।
कानुनी प्रक्रिया र अदालतको फैसला
विवाद चर्किँदै जाँदा शिवम् सिमेन्टले बाँकी पाँच लाख ७२ हजार रुपैयाँ पाउनुपर्ने अवस्थामा पनि जिल्ला अदालतमा १५ लाख रुपैयाँ दाबी गर्दै बैंकिङ कसुर मुद्दा दायर गरेको इहबको भनाइ छ । पछि अदालतले इहबले तिर्नुपर्ने रकम पाँच लाख ७२ हजार रुपैयाँ मात्र ठहर गर्दै आंशिक दाबी पुग्ने फैसला गरेको थियो ।
यसअघि, २०७९ जेठमा कान्तिपुर दैनिकमा इहबका सञ्चालक विरुद्ध सूचना समेत प्रकाशित गरिएको थियो । जसमा बाँकी रकम पाँच लाख ७१ हजार रुपैयाँ मात्र उल्लेख थियो ।
दुवै पक्षको फरक–फरक व्याख्या
इहबका सञ्चालक आफ्नो व्यवसायिक करारलाई व्यक्तिगत धम्की र गालीगलौजमा रूपान्तरण गरिएको आरोप लगाउँछन् । उनी भन्छन्, “शिवम् पब्लिक कम्पनी हो, व्यक्तिको कुरा ल्याएर धम्की दिन मिल्दैन ।”
शिवम् सिमेन्टका निखिल अग्रवाल भने उल्टै इहबकै सञ्चालकले रकम नतिर्नका लागि मिडिया प्रयोग गरेको दाबी गर्छन् । उनले भने, “हामीले पाउनुपर्ने रकमभन्दा बढी दाबी गरेका छैनौं । यदि उहाँ अन्यायमा पर्नुभएको भए अदालतले नै त्यसको समाधान गर्थ्यो, मिडियामा आएर भ्रम फैलाउनु उचित छैन ।”
यो घटना नेपाली उद्योगबीचको व्यापारिक सम्बन्ध मात्र नभई व्यवहारिक संस्कार र व्यावसायिक मर्यादासँग पनि गाँसिएको छ । बजारमा ‘नो कम्प्रमाइज’ भन्ने स्लोगानसहित परिचित शिवम् सिमेन्टले अर्कै कम्पनीसँग अश्लिल गालीगलौज र कानुनी विवादसम्म तानिएको यस प्रकरणले देखाएको छ । व्यापारिक सम्बन्धलाई व्यक्तिगत धम्की, राजनीतिक पहुँच र अपमानमा बदल्दा बजारमा बनेको विश्वास मात्र होइन, उद्योगको सामाजिक छवि समेत कमजोर हुने देखिन्छ ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया