चारबुँदे मागसहित डा. गोविन्द केसीको २३ औँ अनशन शुरु

कैलाली । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले २३ औं अनसन सुरु गरेका छन् । कैलालीको गेटा मेडिकल विश्वविद्यालय पुगेर डा. गोविन्द केसीले आफ्नो २३ औँ अनशन सुरु गरेका हुन् ।
चारबुँदे माग अघि सार्दै उनले तीन दिनसम्म मात्रै रहने गरी अनशन सुरु गरेका हुन् ।
गत साउन २९ गते बसेको चिकित्सा शिक्षा आयोगको २१ औँ पूर्ण बैठकले नेपालमा ९ वटा निजी मेडिकल कलेजहरूको सिट संख्या बढाउने निर्णय गरेको थियो । डा केसीले आयोगको उक्त निर्णयले गुणस्तरमा असर गर्ने भन्दै निर्णय फिर्ताका लागि आग्रह गरेका थिए । तर उनको आग्रहका विषयमा सरकारले कुनै काम अगाडि नबढाएपछि अनसनको घोषणा गरेका हुन् ।
“मेडिकल शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा प्रत्यक्ष नकारात्मक असरपार्ने प्रधानमन्त्री र आयोगका पदाधिकारीले हालै गरेका स्वार्थपरक निर्णयले गरिबको मात्र होइन बुद्धिजीवी, पत्रकार लगायत सबै नेपालीको स्वास्थ्य प्रभावित हुन्छ । मानवजातिको सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै स्वास्थ्य हो । गुणस्तरीय, निशुल्क तथा सस्तो शिक्षा तथा स्वास्थ्यसेवामा सबै नेपालीको समतामूलक पहुँचको सुनिश्चितताको लागि लड्दै आयौं र लडिरहने छौं । सरकारको हालैको सो निर्णय फिर्ता लिन हामीले गरेको बारम्बार अनुरोधको बेवास्ता भएकोले सत्याग्रह गर्ने घोषणा गरेका थियौं, शारीरिक अशक्तताको बाबजुद भदौ १५, २०८२ का दिन सत्याग्रह शुरु गर्ने जानकारी गराउन चाहन्छौं,” डा केसीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको थियो ।
तर उनको यो घोषणाको सरकारले वेवास्था गरेपछि त्यसैविरुद्ध उनले अनशन सुरु गरेका हुन् ।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको अध्यक्षमा बसेको आयोगको २१ औँ बैठकले एमबीबीएसको कोटा अधिकतम १०० बाट बढाएर १३० सिट र बीडीएसको अधिकतम ५० बाट बढाएर ६० पु¥याउने निर्णय गरेको थियो ।
यस्तै शुल्क नबढाउन, सम्झौता भएअनुसारको इलाम, उदयपुर र डडेल्धुरा लगायतका क्षेत्रमा सरकारी मेडिकल कलेज खोल्न र गेटाको मेडिकल विश्वविद्यालयमा तुरुन्त पूर्ण क्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सुरु गर्न भनेका छन् ।
यस्तै एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी, विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी ऐन पारित गर्न, ऐन अनुरूप मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउन र सरकारी अस्पताल लगायत सबै स्वास्थ्य संस्थामा दरबन्दी बढाउने लगायतका सबै सम्झौता र माग कार्यान्वयन तथा पूरा गर्न पनि भनेका छन् ।
यसका साथै पछिल्लो समय निकै पेचिलो बनेको लिपुलेक भू–भागको विषय समेत मागमा राखेका छन् । उनले लिपुलेकको अतिक्रमण बन्द गरी नेपालको अतिक्रमित भूमि फिर्ता गर्न भारत सरकारसँग र त्यस कार्यको सुनिश्चितता गर्न नेपाल सरकारसँग माग गरेका छन् ।
डा. केसीले आफ्नो चौथो नम्बर बुँदामा युक्रेन र गाजामा भइरहेको नरसंहारकारी युद्ध तुरुन्त बन्द गर्न रूस र इजरायलसमक्ष माग गरेका छन् ।
हाडजोर्नी विशेषज्ञ समेत रहेका प्राडा केसीको २३ औँ अनशन हो । केही समयअघि दुर्घटनामा परेर अस्वस्थ रहेका प्राडा केसी एक हप्ताभन्दा बढी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराएर केही दिनअघि मात्रै डिस्चार्ज भएका हुन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया