नेपाली सेनाद्वारा देशभर भोलि बिहान ६ बजेसम्म कफ्र्यू आदेश जारी

काठमाडौं । नेपाली सेनालेले काठमाण्डौ उपत्यकासहित देशभर लागू भएको निषेधाज्ञा आज बेलुका ५ बजेसम्म निरन्तर रहने जनाएको छ । त्यसपछि भोलि बिहान ६ बजेसम्म कफ्र्यू कायमै रहनेछ ।
आन्दोलनका नाममा अझै पनि विभिन्न ठाउँमा अराजक गतिविधि भइरहेका र सुरक्षालाई ध्यानमा राखेर अहिले लागु भएको निषेधाज्ञा र कफ्र्यू कायमै राखिएको सेनाले जनाएको छ । निषेधाज्ञा तथा कफ्र्यू सम्बन्धमा आज सूचना निकालेर सेनाले यो बेला अत्यावश्यक सेवाका गाडी जस्तै एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका गाडी सञ्चालन हुने जनाएको छ ।
अहिले नेपाली सेनाले काठमाडौंका सडकहरूमा गस्ती गरिरहेको छ । घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै सेनाले घरमा फर्काइरहेको छ ।
सोमबार र मंगलबार जेन–जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै मंगलबार राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् । आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ ।
आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीसँग समन्वय गर्न सेनाले जारी गरेको सूचनामा भनिएको छ । साथै आधिकारीक सूचना सम्प्रेषण गर्न र त्यस्ता सूचनामा मात्रै विश्वास गर्न अनुरोध गरिएको छ ।
देशमा शान्तिसुरक्षा तथा अमन चयन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएको जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुननदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ ।
सूचना निर्देशनालयले बुधबार जारी गरेको सूचनामा सुरक्षा संयन्त्र पुग्नुअगावै स्थानीय समुदायले एकजुट भई स्थितिको खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ ।
देशमा विद्यमान सुरक्षा चुनौती तथा विभिन्न स्थानहरुमा उछृङ्खल तत्वबाट लुटपाट तथा आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक तथा अराजक गतिविधिहरु आफ्नो समुदायमा देखिएमा यथाशीघ्र नेपाली सेनाको ९८६३०२९०२९ नम्बरमा सन्देश पठाउन सेनाले अनुरोध गरेको हो ।
सूचनामा भनिएको छ, “केही उछृङ्खल तत्वले भ्रामक खबर सामाजिक सञ्जालमा राखेर स्थितिलाई अतिरञ्जित बनाउने तथा त्रासको वातावरण सिर्जना गर्न खोजेको हुँदा त्यस्ता क्रियाकलापलाई निस्तेज गर्न आ–आफ्नो क्षेत्रबाट सही खबर मात्र सम्प्रेषण गरी सहयोग गर्न सूचित गरिन्छ ।”
प्रदर्शनकारीले आगो लगाएको संसद भवनमा सेनाले सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ । अन्य सरकारी एवं संवैधानिक निकायहरूमा पनि सेना लगायत सुरक्षाकर्मीहरू परिचालित हुन थालेका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया