Techie IT
Samayabaddha
मंगलबार, १८ कात्तिक, २०८२

ट्राफिक नियममा कडाईं, २ लाख जरिवाना र ६ महिनासम्म कैद सजाय


काठमाडौं । के तपाईंले ट्राफिक नियम पालन गरिरहनुभएको छ ? कि ट्राफिक प्रहरीको आँखा छल्दा वा देखिहालेमा सामान्य जरिवाना तिर्दा मुक्ति पाइने भनेर नियम उल्लंघन गरिरहनु भएको छ । होसियार, अब पहिलेको जस्तो गल्तीमा सहज ढंगले उन्मुक्ति पाउनुहुने छैन । सरकारले ट्राफिक नियम उल्लंघन नियन्त्रण गर्न छिट्टै कडा कानुन ल्याउने भएको छ । हाल जरिवाना रकम कम हुँदा ट्राफिक नियम उल्लंघन बढेपछि सरकारले २ लाख रुपैयाँसम्म जरिवाना र ६ महिनासम्म कैद सजाय गर्ने कानुन ल्याउने भएको हो । भौतिक पूर्वाधार तथा यातायाता मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ को मस्यौदामा ट्राफिक नियम उल्लंघनमा २ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको हो ।

स्रोतका अनुसार, प्रस्तावित विधेयकमा कसुर र दण्ड सजायसम्बन्धी व्यवस्था गरिएको छ । कुनै एक प्रयोजनको लागि दर्ता भएको साधन अर्कै प्रयोजनमा प्रयोग भएमा साना दुई पांग्रेको हकमा ५० हजार रुपैयाँसम्म, तीन पाङ्ग्रे र मझौला साधनको हकमा १ लाख रुपैयाँ र ठूला साधनको हकमा २ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । जसमा तोकिए अनुसार सवारी दर्ता प्रमाणपत्रमा उल्लेखित नम्बर प्लेट नराखेमा वा अर्कै नम्बर प्लेट राखी सवारी साधन चलाएमा १० हजारदेखि ३० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय गरी कसुरको गाम्भिर्यताको आधारमा साधनसमेत जफत गर्न सक्ने व्यवस्था गरिएको छ ।

लाइसेन्स नलिइ सवारी साधन चलाएमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रेको हकमा २ हजार रुपैयाँ, साना मझौला सवारीको हकमा ५ हजार रुपैयाँ र ठूला साधनको हकमा १० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ । चलाउने व्यक्ति र सवारीधनी फरक भएको खण्डमा सवारी धनीले पनि सोही अनुसार जरिवाना तिर्नु पर्ने हुन्छ । रुट पर्मिट नलिइ गाडी चलाएमा कारबाहीमा पर्नेले १० हजार रुपैयाँ जरिवाना तिर्नु पर्ने हुन्छ । सवारीसाधनको जाँच पास नगराई चलाउने चालकलाई दुई पाङ्ग्रेको हकमा ५ हजार रुपैयाँ, तीन पाङ्ग्रे र साना सवारीको हकमा १० हजार र मझौला तथा साना सवारीको हकमा १५ हजार रुपैयाँ जरिवान हुनेछ । तोकिएभन्दा बढी स्पीडमा गाडी चलाएको खण्डमा सबै किसिमका साधनलाई ५ हजार रुपैयाँ जरिवाना लाग्नेछ ।

अधिकार प्राप्त व्यक्तिको बिनास्वीकृति ट्राफिक संकेत हटाएमा, बदलेमा, हेरफेर गरेमा, विगारेमा, मेटेमा, च्यातेमा वा केरमेट गरेमा २० हजार रुपैयाँ जरिवाना गरिनेछ । सिट बेल्ट वा मोटरसाइकल या स्कुटरमा हेलमेट नलगाई चलाएमा ३ हजार रुपैयाँ जरिवाना लाग्नेछ । मादक पदार्थ वा लागूपदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई १० हजार रुपैयाँ जरिवान हुने प्रस्ताव प्रस्तावित विधेयकमा गरिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट