कांग्रेसभित्रको विवाद उत्कर्षमा
	
				
			नेपाली कांग्रेसमा भुसको आगोझैं भित्रभित्रै सल्कदै गएको विवादले ठूलो आकार लिएको छ । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले त कांगेसमा पुरानो र नयाँ पुस्ताबीचको दुरी नै निकै बढाएको हो । यसलाई नजिकबाट नियाल्नेहरू त कांग्रेसमा पुरानो र नयाँ पुस्ता आमनेसामने भइसकेको बताउन थालेका छन् । भदौ २३–२४ मा जेन–जीले गरेको विद्रोहले पुराना राजनीतिक दललाई सत्ता राजनीतिबाट बाहिर पु¥याएसँगै विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसमा विवाद बढेको हो ।
पछिल्लो पुस्ताले पार्टीमा पुरानो नेतृत्वलाई अस्वीकार गरेको जनाउँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तत्काल नेतृत्व परिर्वतनको बहस सुरु गरेका छन् । त्यसका लागि उनीहरूले विशेष महाधिवेशन वा अहिलेकै अवस्थामा महाधिवेशनमा जानुपर्ने प्रस्ताव राखेका छन् । उनीहरूले सभापति शेरबहादुर देउवाको विकल्प खोज्नका लागि यो प्रस्ताव ल्याएका हुन् । दुईदिने विद्रोहको बलमा गठन भएको सुशीला कार्कीनेतृत्व सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन मिति तोकेको छ । त्यसअघि नै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने माग कांग्रेसमा बढ्दो छ ।
नियमितभन्दा विशेष महाधिवेशन बोलाउनुपर्ने जनाउँदै गुरुराज घिमिरे, देवराज चालिसे, जनकराज गिरीसहितका नेताले हस्ताक्षर अभियान सुरु गरेको घोषणा गरेका छन् । विशेष महाधिवेशनका लागि उनीहरूले हस्ताक्षर अभियान चलाएको दुई दिन बित्न नपाउँदै बुधबार सभापति देउवा निकट नेताहरू त्यसको विपक्षमा उभिएका छन् ।
उसो त सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित कांग्रेसका प्रदेश सभापति र केन्द्रीय सदस्यहरूले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको भ्रममा नपर्न आग्रह गरेका छन् । प्रदेशका कार्यवाहक सभापति लोकराज अवस्थी, केन्द्रीय सदस्यहरू नृपबहादुर वड, सुशीला मिश्रसहितका नेताहरूले अहिलेको अवस्थामा पार्टीभित्र थप सुदृढ एकता आवश्यक रहेको औंल्याएका छन् । विशेष महाधिवेशनको कुरा उठाएर पार्टीलाई कमजोर र विभाजनतर्फ लैजान खोजिएको उनीहरूको बुझाई छ ।
घिमिरेसहितका नेताले परिवर्तित राजनीतिक अवस्था र विषम परिवेशमा कांग्रेसलाई नयाँ ढंगबाट अघि बढाउन विशेष महाधिवेशन आवश्यक रहेको दाबी गरेका छन् । पार्टी केन्द्रीय समितिबाट विशेष महाधिवेशनको निर्णय लिने अवस्था नरहेको जनाउँदै उनीहरूले हस्ताक्षर अभियान सुरु गर्नुपरेको बताएका हुन् । अहिलेको परिस्थिति आउनुमा विगतमा पार्टीले अख्तियार गरेका नीति, निर्णय, कदम, काम कारबाही तथा नेतृत्वको कार्यशैली जिम्मेवार रहेको दाबी घिमिरे पक्षको छ । अहिलेको नेतृत्वबाट पार्टीलाई अघि बढाउन नसकिने उनीहरूको दाबी छ ।
आआफ्नै दाबीसहित दुई पक्ष वक्तव्यबाजीमा सक्रिय हुँदा दुई दिने जेनजी विद्रोहपछि किनारामा पुगेको कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्ने देखिएको छ । कांग्रेस केन्द्रीय समितिले चाहेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारणसहित विशेष महाधिवेशन माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्नेछ । केन्द्रीय समिति आफैंले विशेष महाधिवेशन बोलाउने सम्भावना निकै न्यून छ । ४० प्रतिशत प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेष अधिवेशनका लागि असोज मसान्तभित्र निवेदन दर्ता गरेमा पुसभित्र अधिवेशन बोलाउनुपर्ने हुन्छ । अहिलेको अवस्थामा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पु¥याउने विषय पनि सहज नरहेको बताइन्छ ।
आगामी मंसिरमा कांग्रेसको चारवर्षे कार्यकाल सकिने भएकाले अब विशेष महाधिवेशनभन्दा नियमित महाधिवेशन गर्नुपर्ने पार्टीभित्र धेरैले बताउँदै आएका छन् । त्यसले पार्टीभित्र तिक्तता कम गर्ने जनाउँदै फागुन २१ गतेको निर्वाचनअघि नयाँ नेतृत्व लिएर जान सकिने तर्क गरेका छन् ।
क्याटेगोरी : समाचार


				
				
				
				
				
				















प्रतिक्रिया