Techie IT
Samayabaddha
मंगलबार, १८ कात्तिक, २०८२

शीर्ष नेताहरूको राहदानी रोक्काको प्रक्रिया थालियो


सरकारले प्रमुख राजनीतिक दलका केही शीर्ष नेताहरूको राहदानी रोक्काको प्रक्रिया अगाडि बढाएको छ । दशैंको सेरोफेरो पारेर नेताहरूले देश छाड्न सक्ने भएकाले सरकारले उनीहरूको निगरानी बढाएर राहदानी रोक्काको कार्य अघि बढाएको हो । जेनजी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूको पनि राहदानी रोक्का गरिने भएको छ ।

स्रोतका अनुसार, विहीवारसम्म यसबारे ठोस योजना बनाएर शुक्रवारबाट निगरानी, अनुसन्धान र राहदानी रोक्का प्रक्रिया सुरु गर्न लागिएको हो । सरकारले विशेष गरी पहिलो चरणमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत दलका केही शीर्ष नेताहरूको राहदानी रोक्न लागेको छ ।

राहदानी रोक्काका लागि निवर्तमान प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक, कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवाको नाम उच्च प्रथामिकतामा छ । यसबाहेक सम्बन्धित फौजदारी उजुरी र अनुसन्धानको प्रारम्भिक नतिजा हेरिने छ । सरकारले केही शीर्ष नेताका राहदानी रोक्काबारे गत मंगलबार मात्रै अध्यागमन विभाग, राहदानी विभागसँग छलफल गरेको थियो । छलफलका क्रममा विभागले राहदानी रोक्काका प्रक्रिया र कानुनबारे ब्रिफिङ गरेको थियो । सो क्रममा विभागले कस्तो अवस्थामा राहदानी रोक्का हुने, त्यसका लागि के–के चाहिने जस्ता विषयहरूबारे जानकारी गराएको थियो । राहदानी रोक्का गनुपर्ने कारणसहितको पत्र अध्यागमन विभागमा पुगेपछि राहदानी रोक्का हुने बताइएको छ ।

नेपालको राहदानी ऐन २०७६ मा राहदानी रोक्का राख्ने र रद्द गर्ने दुवै व्यवस्था छ । ऐनको दफा १२ को (क) अनुसार अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, अपहरण, लागु औषध, हाततियार कारोबार, संगठित अपराध वा आतंकवादसम्बन्धी कसुरको अभियोगमा अनुसन्धानको सिलसिलामा अनुसन्धान अधिकारीले राहदानी जारी नगर्न वा रोक्का गर्न पत्राचार गर्नसक्ने व्यवस्था छ । (ख) अनुसार यसबाहेक अदालतले पनि कुनै मुद्दा परेमा राहदानी रोक्का राख्न आदेश दिनसक्छ । कुनै जायज कारण देखिए सरकारले पनि राहदानी रोक्का राख्न सक्ने ऐनमा व्यवस्था छ ।

यसैबीच, अहिले केही नेताहरूमाथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । कांग्रेस सभापति देउवा र कांग्रेसकै नेता तथा पूर्व उर्जामन्त्री दीपक खड्काको घरमा गत आइतबार मात्रै विभागको टोली पुगेर अनुसन्धान अघि बढाएको थियो । हरिहरभवनस्थित विभागबाट एसपी नवरत्न पौडेलसहितको टोली बूढानीलकण्ठस्थित देउवा र खड्काको निवासमा पुगेर मुचुल्का उठाएको थियो । जेनजी प्रदर्शनकारीहरूले आगजनी गरेपछि उनीहरूको घर जलेको थियो । जलेको उक्त घरमा डढेको अवस्थामा पैसा भेटिएको थियो ।

देउवाको घरमा डलर र नेपाली हजार, पाँच सयका नोटहरूका जलेको टुक्राहरू समेत भेटिएको थियो भने खड्काको घरबाट केही रकम भेटिएको भिडियो सार्वजनिक भएको थियो जलेको घर र त्यसको अवस्था, रकम रहेको ठाउँ लगायतको मुचुल्का विभागले गरिसकेको छ । यता, विभागले बुधबार मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको खुमलटार निवासमा पुगेर मुचुल्का गरेको छ । प्रचण्डको घरमा पनि जलेको रकमका केही टुक्राहरू भेटिएको भन्दै तस्वीरहरू बाहिरिएका थिए । विभागको टोली एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीको बालकोटस्थित निवासमा पुगेर पनि मुचुल्का गरिसकेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट