Techie IT
Samayabaddha
सोमबार, १७ कात्तिक, २०८२

प्रभावकारी सूचना र सक्रियताले कम गर्‍यो क्षति


काठमाडौं । देशैभरि खासगरी लुम्बिनी र गण्डकी प्रदेशका पूर्वी भाग र त्यस पूर्वका सबै प्रदेशमा भैरहेको अविरल वर्षाले जनजीवन कष्टकर बनेको छ । यातायातका साधनहरू बन्दप्रायः छन् । दशैं मानेर काठमाडौं भित्रिन खोजेका यात्रुहरू बाटो(बाटोमै रोकिएका छन् । बाढी र पहिरोले पुर्‍याएको भौतिक क्षतिको विवरण यकिन हुँन बाँकी नै छ । तर सरकारको प्रभावकारी सूचना संयन्त्र र भौतिक सकृयताले हालसम्मको मानवीय क्षति भने न्यून नै छ ।

हालसम्म, पाँचथरको कुम्यायक गाउँपालिकास्थित कात्तिके डाँडामा भएको बोलेरो दुर्घटनामा ६ जनाको मृत्यु भएको र ६ जना घाइते भएको खबर छ । त्यस्तै रसुवाको लाङटाङ घुम्न गएका भक्तपुरका ४ किशोरकोशोरीलाई खोलाले बगाएको छ । उता रौतहटको कटहरिया नगरपालिका(२ मा चट्याङ लागेर दुईजनाको मृत्युु भएको छ भने उदयपुरको त्रियुगास्थित अम्बिका खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

वर्षातका कारण देशैभरका मुख्य राजमार्ग र काठमाडौं जोड्ने सबै राजमार्ग अस्तव्यस्त छन् । तर बाटोमा अलपत्र परेकाहरूलाई स्थानीय प्रशासन, राजनीतिक दलका कार्यकर्ता, होटल संचालक तथा स्थानीय बासिन्दामार्फत खानेबस्ने प्रबन्ध गरिएको छ भने सवारी साधनलाई पनि सुरक्षित गरिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले जनधनको सुरक्षाका लागि सरकार २४ घण्टा नै तयार रहेको र कुनै संकोच नमानी सहयोग लिन देशबासीका नाममा भिडियो सन्देश जारी गरेकी छन् । सरकारले आपत पर्दा र तत्काल उद्दार चाहिँदा तुरुन्त सम्पर्क गर्न भनी ७७ जिल्लाकै प्रशासन कार्यालयहरूको हट लाइन नम्बरहरू उपलब्ध गराएको छ । त्यस्तै माइकिङ र संचार सन्देशहरूमार्फत सचेत बनाएको छ । जो जहाँ छ, त्यहीँ सुरक्षित हुन र खतरा आए तत्काल खबर गर्न भनेको छ ।

गृहमन्त्रालय र प्रशासन, प्रहरी, सशस्त्र प्रहरी सहित माताहतका सम्पुर्ण कार्यालयहरू, जल तथा मौसम पूर्वानुमान महाशाखा, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय र संचार मन्त्रालयबीच समन्वयकारी भूमिका देखिएको छ ।

उद्दारका लागि सुरक्षा टोलीहरू, उपकरण र सरकारी र निजी सबै हेलिकप्टरहरू स्टान्डबाई छन्, आवतजावतमा हतार नपरोस् भनेर आज र भोलि सोमबारसम्मका लागि अत्यावश्यक सेवा बाहेकमा सरकारी बिदा घोषणा गरिएको छ । उपत्यका र मधेसका कयौं बाढीपीडिलाई नजिकैको सामुदायिक विद्यालयमा लगि सुरक्षित गरिएको छ । कांग्रेस, एमाले र माओवादी केन्द्र लगायतका मुख्य दलहरूले आपतकालीन फिल्डमा उत्रिएर उद्दार(राहतमा संलग्न हुने निर्णय गरेका छन् । सूचना संयन्त्रलाई प्रभावकारी प्रस्तुत गर्न निर्देशन दिएका छन् । मौसमवीद्का अनुसार आज दिउँसोबाट वर्षात कम हुँदै क्रमशः पूर्वतिर सर्दै जानेछ, तर सूचना र सुरक्षा सतर्कतामा निरन्तर चनाखो भैराख्नु पर्नेछ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट