Techie IT
Samayabaddha
सोमबार, १७ कात्तिक, २०८२

माओवादी केन्द्रकाे एकताबारेकाे आधिकारिक धारणा सार्वजनिक


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले समाजवादी मोर्चाभित्र एकता र संयुक्त मोर्चा निर्माणका सम्बन्धमा संचार माध्यम तथा सामाजिक सञ्जालमा फैलिएका हल्ला र अफवाह अस्वीकार गर्दै आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भनेकाे छ, “केन्द्रीय समिति बैठकले गरेको निर्णय र आवश्यकता अनुसार समाजवादी मोर्चामा आबद्ध राजनीतिक दल तथा अन्य वामपन्थी र प्रगतिशील समूहबीच नेपाली समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक र सांगठनिक छलफल जारी छ ।”

सचिवालयले भनेकाे छ “यद्यपि कुनै पनि दलसँग एकता गर्ने वा अन्य ठोस निर्णयमा पुग्ने प्रक्रिया अझै टुंगोमा पुगेको छैन ।” माओवादी केन्द्रले बिभिन्न समयमा नेपाली जनताले अगुवाई गरेका क्रान्ति र संघर्षहरूको रक्षा गर्दै बाँकी कार्यभार पूरा गर्नका लागि एकता अपरिहार्य भएको निष्कर्ष निकालेको छ ।

“इतिहासको यही आवश्यकतालाई मनन गर्दै अहिले एकताका विषयमा बिभिन्न पक्षसँग सघन छलफल भइरहेको भए पनि कुनै पनि विषयमा अन्तिम टुंगो नलागेकाले सामाजिक सञ्जाल वा केही संचार माध्यममा भएको प्रचारमा कुनै सत्यता छैन,” सचिवालयले भनेकाे छ ।

सचिवालयले पार्टीभित्र र समाजवादी मोर्चासँग सम्बन्धित छलफललाई जिम्मेवार र संयमित रूपमा हेरिने बताएकाे छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट