Techie IT
Samayabaddha
सोमबार, १७ कात्तिक, २०८२

वालुवाटारमा कांग्रेसको अपमान किन ?


अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार अपरान्ह विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सात दललाई निर्वाचनका बारेमा छलफलका लागि बोलाइन् । सो बैठकमा नेपाली कांग्रेसका तर्फबाट महामन्त्री गगन थापाले नेतृत्व गरे । उनीसँगै प्रवक्ता डा प्रकाशशरण महत सो सर्वदलीय बैठकमा सहभागी भए । सर्वदलीय बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा प्रकाशशरण महत, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम सहभागी थिए ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेमकिपाबाट प्रेम सुवाल तथा जनमत पार्टीबाट चन्दनकुमार सिंह र एकीकृत समाजवादी पार्टीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपमहासचिव प्रकाश ज्वाला सहभागी रहेको जानकारी प्रधानमन्त्रीको सचिवालयले संचारमाध्यामहरूलाई पहिला नै दिइसकेको थियो ।

तर, बैठकमा बालुटारको गरेको सिटको व्यवस्था हेर्दा भने विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई पुच्छरमा थियो । भङ्ग भएको संसदमा कांग्रेस सबैभन्दा ठूलो दल रहेको छ । सोही मर्यादाक्रम अनुसार बस्ने व्यवस्था गर्नुपर्ने थियो । तर, प्रधानमन्त्रीको दाहिनेतर्फ रोमा सबैभन्दा सुरुमा नेकपा एमालेका नेताहरू सुरुमा बसेका छन् । एमालेका नेताभन्दा पछि नेकपा माओवादी केन्द्रका नेता बसेका छन् । यी दुई दल भन्दा कांग्रेसका नेताहरूको सिट सुरुमा हुनुपर्ने हो ।

तर, तस्वीरमा कांग्रेस राप्रपाका नेता भन्दा पनि पछिल्लो सिटमा बसेपछि कांग्रेसलाई वालुवाटारले अपमान गरेको हो कि भन्ने प्रश्न कांग्रेसका नेता कार्यकर्ताले उठाएका छन् । प्रधानमन्त्री कार्कीको देब्रेतर्फको रोमा मन्त्रीहरूपछि जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू बसेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू पनि विघटित प्रतिनिधिसभाको चौथो ठूलो दल रास्वपाले पनि प्रतिनिधिसभा विघटन अघिको पार्टीको मर्यादा अनुरुप सिट पाएको छैन् ।

नेपाली कांग्रेस महामन्त्री थापा र रास्वपाका उपसभापति वाग्ले आमनेसामने हुने गरी बसेका छन् । वालुवाटारले कांग्रेसलाई अपमान गरेको अशंकासँगै थापा र वाग्लेहरूले ‘स्टन्ट’ गरेको पनि भन्दै समाजिक सन्जालमा आलोचना भएको छ । बालुवाटारले अपमान गरेको हो कि थापाको ‘स्टन्ट’ हो भन्ने पार्टीका तर्फबाट नेतृत्व गर्ने महामन्त्री र प्रवक्ताले स्पष्ट पार्नुपर्ने पनि समाजिक संजालमा कार्यकर्ताहरूले आवाज उठाएका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट