तीन महिनामा दुई खर्ब १८ अर्बको सामान आयात, गतवर्षको भन्दा १९ प्रतिशतले वृद्धि !
वीरगञ्ज । वीरगञ्ज नाका हुँदै यो आर्थिक वर्षका पहिलो तीन महिनामा दुई खर्ब १८ अर्ब १० करोड रुपैयाँ बराबरका सामान आयात भएको छन् । देशको प्रमुख व्यापारिक नाका मानिने वीरगञ्जले सधैंजसो राष्ट्रिय आयात परिमाणमा महत्वपूर्ण योगदान दिने गरेको छ । तर यो वर्ष आयात वृद्धिको दर उल्लेखनीय रूपमा बढेको देखिएको हो ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष आयात १९ प्रतिशत वृद्धि भएको भन्सार कार्यालय वीरगञ्जले जनाएको छ । संख्यात्मक रूपमा हेर्दा गत वर्षका तीन महिनामा एक खर्ब ८३ अर्ब ८७ करोडका सामान आयात भएको थियो । तर यस वर्ष ३४ अर्ब २३ करोड बढी सामान भित्रिएको हो । यी तथ्याङ्कले देखाउँछ कि आयात निर्भरता अझै बढ्दै गएको छ, जबकि निर्यात वृद्धि अपेक्षाकृत न्यून छ ।
वीरगञ्ज नाकाबाट आयात हुने वस्तुहरूमा पेट्रोलियम पदार्थ सधैं अग्रस्थानमा रहने गरेको छ । यस वर्ष पनि यही प्रवृत्ति कायम रह्यो । पहिलो तीन महिनामै ३८ अर्ब ९ करोड मूल्य बराबरका पेट्रोलियम पदार्थ आयात भएका छन् ।
नेपालको ऊर्जा आवश्यकतामा १०० प्रतिशत निर्भरता बाह्य देशमा रहेकाले पेट्रोल, डिजेल, मट्टितेल, ग्यास जस्ता पदार्थको उच्च आयात देशको व्यापार घाटा बढाउने मुख्य कारक मानिएको छ । मूल्यवृद्धि हुँदा यो भार अझै बढ्छ ।
फलाम तथा फलामबाट बनेका सामानको आयात पनि ठूलो परिमाणमा भएको भन्सार तथ्याङ्कले देखाउँछ । यो अवधिमा १९ अर्ब ८४ करोड मूल्य बराबरको फलामजन्य वस्तु नेपाल भित्रिएको छ ।
पूर्वाधार निर्माण, उद्योग विस्तार तथा घर–घडेरी निर्माणहरूमा बढ्दो चहलपहलले फलामजन्य वस्तुको माग बढेको मानिन्छ । तर यस्ता वस्तु आयातले घरेलु उत्पादन उद्योगलाई प्रतिस्पर्धामा कमजोर बनाइरहेको आलोचना पनि सँगसंगै उठिरहेको छ ।
औद्योगिक गतिविधिमा वृद्धि, नयाँ उत्पादन इकाइ स्थापना र यान्त्रिक उपकरणका कारण मेसिनरी तथा पार्टपुर्जाको आयात वर्षेनी बढ्दै गएको छ । यस आर्थिक वर्षको तीन महिनामा १५ अर्ब ५७ करोड मूल्यका मेसिनरी र पार्टपुर्जा आयात गरिएका छन् ।
समग्र आयात सूचीमा भटमासको कच्चा तेल पनि महत्वपूर्ण स्थानमा रहेको छ । यस अवधीमा १४ अर्ब ८० करोड बराबरको कच्चा तेल आयात भएको छ ।
नेपालमा खाने तेल उद्योगहरू धेरै छन्, तर कच्चा पदार्थ आयातमा निर्भरता निकै उच्च छ । उद्योगमा प्रशोधन गरेर खाने तेल उत्पादन भए पनि आधारभूत कच्चा पदार्थ आयातमै निर्भर रहँदा व्यापार घाटा कम हुन सकेको छैन ।
कृषि उत्पादन वृद्धि गर्न मलखाद अनिवार्य रहेको अवस्थामा नेपालले विदेशबाट ठूलो परिमाणमा मल आयात गर्नुपर्ने बाध्यता छ । यो वर्ष तीन महिनामा १२ अर्ब ८१ करोड मूल्य बराबरको मल आयात भएको छ ।
यस्तै नेपालमा उपभोग हुने प्रायः सबै कपडाहरू चीन, भारत तथा अन्य मुलुकबाट आयात हुने हुँदा तीन महिनामै १२ अर्ब १६ करोड मूल्यका सबै प्रकारका कपडा आयात भएका छन् ।
इलेक्ट्रिक मेसिनरी तथा उपकरण, र तिनका पार्टपुर्जा आयातमा १२ अर्ब ६ करोड सवारीसाधन र तिनका पार्टपुर्जा आयात १० अर्ब १२ करोड मूल्य बराबरको आयत भएको छ ।
वीरगञ्ज नाका हुँदै भएको यी तीन महिनाका आयात आँकडाहरूले नेपालको अर्थतन्त्र आयातमुखी छ भन्ने पुष्टि गर्छ । उपभोगमुखी अर्थतन्त्र, कमजोर निर्यात र विदेशी मुद्रा सञ्चितामा दबाब आयात वृद्धिसँगै राष्ट्रका सामू चुनौतीहरु थपिएका छन् ।
क्याटेगोरी : अर्थ



















प्रतिक्रिया