Techie IT
Samayabaddha
शुक्रबार, २८ कात्तिक, २०८२

पूर्व माओवादी नेता दाहालको टिप्पणी : राजनीति सेवाको संस्कृतिमा नफर्के जनताले नयाँ मार्गचित्र कोर्नेछन्


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा आवद्धता जनाएका पूर्व माओवादी केन्द्रका नेता महेश्वर दाहालले आफ्नै पूर्व पार्टी सम्बन्धित समूहमा १ सय ३८ जनाको केन्द्रीय समिति बनाएकोमा तीव्र असन्तुष्टि जनाउँदै वर्तमान राजनीति पदीय दुरुपयोग, भ्रष्टाचार र विलासी संस्कृतिले थला परेको बताएका छन् ।

दाहालले माओवादी केन्द्रका शीर्ष नेताहरूलाई लक्षित गर्दै भदौ २४ मा देखिएको राजनीतिक घटनाबाट कुनै पाठ नसिकेको दाबी गरे । उनका अनुसार जेनजी आन्दोलनले उठाएका प्रश्नहरूले समाजमा चेतनाको नयाँ उचाइ बनाइसकेको अवस्थामा पनि पार्टी नेतृत्व सत्ता र राजकीय शक्तिको आडमा ती आवाजहरूबाट जोगिन खोजिरहेको छ । ‘समाज अब नयाँ चेतनामा उठिसकेको छ, तर नेतृत्व पुरानै ढर्रामा अड्किएको देखियो,’ दाहालले लेखेका छन् ।

दाहालले पछिल्लो समय राजनीतिलाई ‘धन्दा’ बनाउने प्रवृत्ति व्यापक भइरहेको बताउँदै यसको जिम्मेवारी शीर्ष नेताहरूमै जाने उल्लेख गरेका छन् ।

राजनीति सेवामुखी संस्कृतिमा फर्कनु अत्यावश्यक रहेको उल्लेख गर्दै दाहालले चेतावनी दिएका छन्, ‘यदि राजनीति सेवाको संस्कृतिमा फर्किएन भने जनताको वैकल्पिक ऊर्जाले नै नयाँ मार्गचित्र कोर्नेछ, पार्टीभन्दा माथि, आचरणको राजनीतिमा, शब्द र कर्मको एकरूपतामा ।’

दाहालको टिप्पणी माओवादी केन्द्रभित्र पछिल्ला दिनहरूमा उत्पन्न आन्तरिक बहससँग मेल खान्छ । उनको यस अभिव्यक्तिलाई पार्टीभित्र जारी असन्तुष्टि र नेतृत्वप्रति बढ्दो अविश्वासको अर्को संकेतका रूपमा हेरिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट