Techie IT
Samayabaddha
शुक्रबार, २८ कात्तिक, २०८२

हसिनाविरुद्धको मानवताविरोधी मुद्दामा सोमबार फैसला हुने !


ढाका । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना अहिले इतिहासकै गम्भीर आरोपको सामना गर्दै छिन् । गत वर्ष देशभर चलेको ठूलो आन्दोलनका क्रममा मानवताविरुद्धका अपराध गरेको अभियोगमा उनी ढाकास्थित अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल–१ ९क्ष्ऋत्(ज्ञ० मा प्रतिवादी बनेकी छन् । यस मुद्दाको फैसला सोमबार हुँदैछ र यसले केवल हसिनाको राजनीतिक भविष्य होइन, बंगलादेशको सत्ता संरचना र जनआन्दोलनको चरित्रमा नै गहिरो प्रभाव पार्ने अनुमान गरिएको छ ।

भारतमा बसिरहेकी हसिनाले भने निरन्तर रूपमा आफू निर्दाेष रहेको दाबी गरेकी छन् । उनले आफूमाथि दायर गरिएको मुद्दा ‘विपक्षी दलहरूको योजनाबद्ध षड्यन्त्र’ भएको बताउँदै आएकी छन् आफू अनुपस्थित रहँदा गरिने कुनै पनि सुनुवाइको नैतिक तथा कानुनी अर्थ नहुने धारणा उनले बिबिसिको अन्तर्वार्ताको क्रममा बताएकी छन् । बीबीसीसँगको विशेष कुराकानीमा हसिनाले छानबिन र अभियोग “राजनीतिक प्रतिशोधको औजार” मात्र भएको बताइन् ।

सरकारी पक्षले भने उनीविरुद्ध अत्यन्त कडा अभियोग दर्ता गर्दै मृत्युदण्डसमेत माग गरेका छन् । ढाकास्थित ट्राइबुनल परिसर सोमबारका लागि उच्च सतर्कतामा राखिएको छ ।

२०२४ को जुलाईदेखि अगस्टसम्म बंगलादेशमा भएको विरोध प्रदर्शन पछिल्लो दशककै ठूलो राजनीतिक उथलपुथल मानिन्छ । आन्दोलन देशैभर फैलियो, जनआक्रोश सत्ताविरुद्ध उर्लियो, र त्यो प्रक्रियामा व्यापक हिंसा भएको विभिन्न अनुसन्धानले देखाएका छन् ।
संयुक्त राष्ट्रसंघको छानविन टोलीले करीब १,४०० जनाको मृत्यु भएको अनुमान सार्वजनिक गरेको छ ।

हसिनालाई ठीक यही दमन–श्रृङ्खलाको मुख्य योजनाकार भन्दै मुद्दा दायर गरिएको हो ।

सोमबार हुने फैसला बंगलादेशी राजनीतिमा टर्निङ पोइन्ट बन्ने विश्लेषकहरूको धारणा छ । पछिल्लो आन्दोलनका सहिदका परिवार, मानवअधिकार अभियन्ता र अन्तर्राष्ट्रिय समुदाय–सबैले सोमबार हुने फैसलालाई असाधारण ध्यानपूर्वक हेरिरहेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति

प्रतिक्रिया


ताजा अपडेट