Techie IT
Samayabaddha
बिहीबार, ४ मंसीर, २०८२

बारामा जेन्जी समूह र प्रहरीबिच झडप, प्रहरीद्वारा हवाई फायर, दर्जनभन्दा बढी घाइते


बारा । बाराको सिमरामा जेन्जी समूह र प्रहरीबीच बिहीबार दिउँसो भएको झडपमा १० जना घाइते भएका छन्। निरन्तरको प्रदर्शन र बाटो अवरुद्धका कारण हात हालाहलको स्थिति सिर्जना भएको थियो ।

झडपमा प्रहरीतर्फ दुई निरीक्षकसहित ६ जना घाइते भएका प्रहरीले जनाएको छ। भिड व्यवस्थापनका क्रममा ढुंगा प्रहार र भीडको धक्कामुक्कीका कारण उनीहरू घाइते भएका बताइएको छ। उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार र २ राउन्ड हवाई फायर गरेको छ ।

कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारी सकडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन बारा प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार गरेको हो । त्यसैगरी २ राउन्ड हवाई फायर भएको बाराका एसपी सन्तोष तामाङले जानकारी दिए ।

प्रदर्शन नियन्त्रणमा लिने क्रममा एक डीएसपी, इन्स्पेक्टर, असई र हवल्दार गरी चार जना घाइते भएको बताइएको छ । त्यस्तै, जेन्जी समूहतर्फ लिलाहरि सापकोटा, श्री चौधरी, सन्देश घिमिरे र निसान श्रेष्ठ घाइते भएका हुन्। तीमध्ये घिमिरे र श्रेष्ठको अवस्था गम्भीर देखिएपछि तत्कालै नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज रेफर गरिएको जिल्ला प्रशासनले जनाएको छ।

स्थानीयका अनुसार झडप सुरु हुँदा कैयौँ युवाहरू एकैपटक सडकमा उत्रिएर प्रहरीमाथि ढुंगा प्रहार गर्दै अगाडि बढेका थिए। अवस्था बिग्रँदै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले आज दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनले नागरिकको सुरक्षालाई मध्यनजर गर्दै सिमरा चोक, पथलैया, परवानीपुर, औद्योगिक करिडोर र आसपासका क्षेत्रलाई कर्फ्यु क्षेत्र घोषणा गरेको हो।

कर्फ्यु अवधिमा सर्वसाधारणलाई घर बाहिर ननिस्कन सूचित गर्दै प्रशासनले अत्यावश्यक कामका लागि मात्र बाहिर निस्कँदा पनि प्रहरीले तोकेको मार्गदर्शन पालना गर्न अपील गरेको छ। कर्फ्यु उल्लंघन गर्नेप्रति कडाइका साथ कारबाही गर्ने चेतावनीसमेत जिल्ला प्रशासनले दिएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट