कम्युनिस्ट खोल छाडिदियौं, गुदी बोकेर हिंडेका छौं : सुदन किराती
काठमाडौं — नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक सुदन किरातीले आफूहरू पुरानो कम्युनिस्ट स्वरूप त्यागेर नयाँ सोच र गहिरो मूल्यबोधसहित अगाडि बढेको स्पष्ट पारेका छन् । राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा बोल्दै उनले विगतमा ओढिएको ‘कम्युनिस्टको खोल’ त्यागिएको भए पनि मूल भावना र परिवर्तनको आत्मा भने आफूहरूले बोकेरै अघि बढेको टिप्पणी गरे ।
सम्बोधनका क्रममा किरातीले धेरैले आफूहरुलाई “कम्युनिस्ट त्यागेको” भनेर व्यंग्य गरे पनि आफूहरू बाहिरी आवरण होइन, वास्तविक उद्देश्य र आदर्श बोकेर हिँडिरहेको बताए । उनका अनुसार असमानता, अन्याय र गरिबी उन्मूलनका नाममा वर्षाैंसम्म नेतृत्वमा बसेका धेरै कम्युनिस्ट पार्टीहरू उल्टै विभेद र अन्यायको जटिल रूप बोकेर बसे, जसले जनतामा निराशा फैलायो । यस्तै अवस्थाबाट निराश भएर नै आफूहरूले बाहिरी पहिचान छाडेर ‘गुदी’ अर्थात् परिवर्तनको वास्तविक सार लिएर नयाँ बाटो समातेको उनको भनाइ छ ।
किरातीले आफ्नो नयाँ राजनीतिक यात्राको मूल लक्ष्य राष्ट्रिय स्वाधीनता सुदृढ बनाउने, असमानता र शोषण अन्त्य गर्ने र जनताको हातमा वास्तविक लोकतन्त्रको अनुभूति गराउने भनेर व्याख्या गरे । उनका अनुसार पुराना पार्टीहरूले बोकेको खोलसँग अब कुनै मोह नरहेकाले त्यो खोल उनीहरूकै हातमा छोडिदिएको र आफूहरू नयाँ ऊर्जा र दृष्टिकोणसहित अघि बढ्ने योजनामा रहेको बताए ।
समाजमा मौलाउँदै आएको गरिबी, विभेद र विकासको असमान संरचनाविरुद्ध अब निर्णायक रूपमा लड्ने प्रतिवद्धता व्यक्त गर्दै उनले नयाँ पार्टीले सांस्कृतिक समानता, आर्थिक समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राख्ने गरी दीर्घकालीन अभियान सुरु गरेको बताए ।
देशमा बढ्दो भ्रष्टाचारलाई उनीहरूले प्रमुख शत्रुका रूपमा लिने जिकिर गर्दै किरातीले भ्रष्टाचार नै नेपालको पछौटेपन र गरिबीको मुख्य कारण भएको आरोप लगाए । ‘अब बोलीमा मात्रै परिवर्तन होइन, व्यवहारमै रूपान्तरण देखिनेछ,’ भन्दै उनले जनताले अनुभूति गर्न सक्ने किसिमको अभ्यास र आचरणमार्फत नयाँ राजनीति निर्माण गर्ने दृढता व्यक्त गरे ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया