Techie IT
Samayabaddha
आईतबार, २१ मंसीर, २०८२

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, कार्यतालिका सार्वजनिक


काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र बनेको छ। निर्वाचन मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक पूर्वतयारी, तालिम, चुनावी सामग्री व्यवस्थापनदेखि राजनीतिक दलहरूको गतिविधि अनुगमनसम्मको प्रक्रिया जोडतोडका साथ अघि बढाएको छ।

आगामी फागुन २१ गते निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ। आयोगले उपलब्ध समयसीमाअनुसार सबै कार्यक्रम निर्धारित ढंगले कार्यान्वयन गर्ने तयारी गरेको छ। राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तीव्र पारेका छन्।

आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत शनिबारदेखि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ। सो कार्यक्रमअनुसार यही मंसिर २१ गते बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ। समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही मङ्सिर २४ गते प्रकाशित हुनेछ।

यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ। यस्तै, आगामी माघ ३० गते भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ। सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ। उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने अवधि तोकिएको छ।

आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ। यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट