Techie IT
Samayabaddha
आईतबार, २१ मंसीर, २०८२

अमेरिकी नीतिमाथि पुटिनको प्रहार, भारतसँग रणनीतिक सहकार्य सुदृढ


दिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हालको भारत भ्रमणले दक्षिण एसिया, अन्तर्राष्ट्रिय कूटनीति र विश्वशक्तिहरूमध्येको शक्ति–सन्तुलनबारे नयाँ बहस सुरु भएको छ । विहिबार बेलुका नयाँ दिल्ली पुगेका पुटिनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वयं विमानस्थलमै स्वागत गर्नु, पारम्परिक संगीत–नृत्यसहितको भव्य समारोह आयोजना हुनु र दुवै नेता एउटै सवारीमा विमानस्थलबाट बाहिरिनुजस्ता दृश्यहरूले भारत–रूस सम्बन्ध अझै पनि उच्च प्राथमिकतामा रहेको स्पष्ट संकेत दिएका छन् । पुटिन आफ्नो छोटो तर महत्वपूर्ण भ्रमणका क्रममा आज स्वदेश फर्किनुअघि विभिन्न कार्यक्रम, द्विपक्षीय वार्ता र शिखर सम्मेलनमा सहभागी हुँदैछन् ।

पुटिनको यो भ्रमण २३ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनका लागि केन्द्रित छ, जहाँ दुवै देशका शीर्ष नेताहरूले हैदराबाद हाउसमा विस्तृत रूपमा छलफल गर्ने तय भएको छ । द्विपक्षीय बैठकमा तेल, रक्षा, भूराजनीति, व्यापार, विज्ञान, प्रविधि र संस्कृतिजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्ने मुख्य एजेन्डा छन् ।

रुसको प्रतिनिधिमण्डल विशेष रूपमा ऊर्जा–व्यापार, रक्षा प्रविधि साझेदारी र आगामी वर्षहरूको रणनीतिक सहकार्यबारे केन्द्रित भएर चर्चा गर्ने अपेक्षा गरिएको छ । पुटिनको पछिल्लो भारत भ्रमण सन् २०२१ मा भएको थियो, त्यसपछि पहिलो पटक उनी पुनः भारत आएका हुन्, जसले यो भेटलाई थप महत्वपूर्ण बनाएको छ ।

भ्रमणको केन्द्रबिन्दु बन्न पुगेको अर्काे मुद्दा अमेरिकाविरुद्ध गरिएको पुटिनको कडा टिप्पणी हो । उनले भारतका सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा इन्धन खरिदको विषयमा अमेरिका दोहोरो मापदण्ड अपनाइरहेको आरोप लगाए । पुटिनका अनुसार अमेरिका आफ्नै आवश्यकताका लागि रुसबाट युरेनियम किन्दै आएको छ, तर भारतलाई भने रुसबाट तेल र ऊर्जा आयात नगर्न दबाब दिन्छ, जुन कथित रूपमा अनुचित र असन्तुलित नीति हो । उनका शब्दमा, यदि अमेरिका रुससँग व्यापार गर्न स्वतन्त्र छ भने भारतले पनि समान अधिकार पाउनुपर्छ ।

सन् २०२५ को अक्टोबरबाट भारतले रुसबाट तेल आयात घटाएको तथ्यलाई पुटिनले अमेरिकाको कूटनीतिक दबाबको प्रत्यक्ष प्रभावका रूपमा व्याख्या गरे । उनले यो विषयमा विस्तृत छलफल गर्न तयार रहेको र आवश्यक परे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि कुराकानी गर्न सकिने बताए ।

अमेरिकी पक्षले भारतलाई रुसको दोस्रो ठूलो तेल खरिदकर्ता भनी आलोचना गर्दै आएको छ, र भारतले रुसको तेल खरिदमार्फत युक्रेन युद्धमा अप्रत्यक्ष सहयोग गरिरहेको आरोप लगाएको छ । यी आरोप भारतले निरन्तर अस्वीकार गर्दै आएको छ । भारतीय अधिकारीहरूको भनाइ छ—भारतले आफ्ना उपभोक्ताको हित र ऊर्जा सुरक्षा नै प्राथमिकता दिन्छ, बाह्य दबाब होइन ।

ट्रम्पले एक समय भारतले रुसबाट तेल खरिद रोक्न सहमति जनाएको दाबी गरे पनि, भारतीय विदेश मन्त्रालयले यसलाई अस्वीकार गर्दै भारतको ऊर्जा आवश्यकता र आत्मनिर्णय नै मुख्य नीति भएको बताएको थियो । यसले भारत–अमेरिका–रूस त्रिकोणीय सम्बन्ध नयाँ मोडमा पुगेको संकेत दिन्छ । भारत एकतर्फ अमेरिका र पश्चिमी मुलुकहरूसँग रणनीतिक साझेदारी बढाइरहेको छ भने अर्काेतर्फ रुससँग ऐतिहासिक तथा रक्षा–ऊर्जा केन्द्रित सम्बन्ध झन् मजबुत बनाएको छ ।

यस्तै, पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीको खुलेर प्रशंसा गरेका छन् । भारतको लोकप्रिय पत्रिका इन्डिया टुडेमा अन्र्तवार्ता दिदै पुटिनले मोदीको प्रसंशा गरेका हुन् । उनले मोदीलाई “भरपर्दा, प्रतिबद्ध, राष्ट्रवादी र कामप्रति अत्यन्त समर्पित नेता” भन्दै मोदी जस्तो नेता पाउनु भारत भाग्यमानी राष्ट्र भएको टिप्पणी गरे । पुटिनका अनुसार मोदी भारतका लागि सोच्ने, भारतका लागि सास फेर्ने र आफ्नो जनताको हितका लागि काम गर्ने नेता भएको बताए । यस बयानले भारत–रूस सम्बन्धको भावनात्मक र राजनीतिक दुवै पक्षलाई उर्जा प्रदान गरेको ठानिएको छ ।

पुटिनले चीन र भारत दुबैलाई आफ्नो घनिष्ठ मित्र बताउँदै मोदी र चीनका राष्ट्रपति सी जिनपिङ ‘समझदार र दृढ’ नेता भएको उल्लेख गरे । यो टिप्पणीले रूसले एसियाली शक्ति–सन्तुलनमा भारतलाई चीनसमान महत्व दिने संकेत देखिन्छ ।

भ्रमणको अर्काे महत्वपूर्ण पक्ष व्यापार असन्तुलन घटाउने पुटिनको प्रस्ताव हो । रूसले भारतबाट आयात कम भएको र व्यापार असन्तुलन लगातार बढिरहेको स्वीकार्दै पुटिनले भारतबाट थप वस्तु आयात गर्न विकल्प खोजिरहेको बताए । यसले भारतका उद्योग, कृषि र प्रविधि निर्यातका लागि नयाँ अवसर खुल्न सक्छ ।

समग्रमा हेर्दा, पुटिनको यो भारत भ्रमण केवल औपचारिक कूटनीतिक भेटमात्र होइन, ठूलो भू–राजनीतिक सन्देश बोकेको घटना हो । यसले अमेरिका–रूस–भारत सम्बन्धमा चलिरहेको शक्ति–खेललाई पुनः सतहमा ल्याएको छ, ऊर्जा सुरक्षादेखि लिएर रक्षा साझेदारी र क्षेत्रीय स्थिरतासम्मका बहसलाई बल दिएको छ । पुटिनको अमेरिका–माथिको आलोचना, मोदीप्रतिको प्रशंसा र व्यापार–सहयोगका प्रस्तावहरूले यो भ्रमणलाई दक्षिण एसियाली कूटनीतिमा निकै प्रभावशाली क्षण बनाइदिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट