भेनेजुएलाले अमेरिकी कार्यलाई ‘समुद्री डकैती’ भन्दै कडा विरोध
अमेरिकी तटरक्षक तथा कानून कार्यान्वयन निकायले क्यारिबियन सागरमा एक प्रतिबन्धित तेल ट्यांकर नियन्त्रणमा लिएपछि भेनेजुएलाले वाशिङ्टनमाथि ‘समुद्री डकैती’ गरेको आरोप लगाएको छ ।
बुधबार अमेरिकाका एटर्नी जनरल प्याम बोन्डीले नियन्त्रणमा लिइएको ट्यांकरले भेनेजुएला र इरानबाट प्रतिबन्ध उल्लङ्घन गर्दै तेल बोकेको दाबी गरेकी थिइन् ।
यस घटनापछि कराकसले विज्ञप्ति जारी गर्दै उक्त कदमको कडा विरोध गरेको छ । भेनेजुएलाले यो कार्यलाई “देशका स्रोत चोरी गर्ने उद्देश्यले गरिएको स्पष्ट डकैती र अन्तर्राष्ट्रिय समुद्री लुट” भनेको छ ।
भेनेजुएलाका परराष्ट्रमन्त्री इभान गिल पिन्टोले अमेरिकाको मुख्य उद्देश्य सदैव “भेनेजुएलाको तेल कब्जा गर्ने र ऊर्जा स्रोत लुट्ने योजनाको हिस्सा” रहेको बताएका छन् ।
समाचार माध्यमहरूले नियन्त्रणमा परेको जहाजलाई द स्किपर नामक गुयाना–फ्ल्याग रहेको ट्यांकर भएको बताएका छन् । यस जहाजलाई अमेरिका सरकारले सन् २०२२ मा इरान र हिजबोल्लाहलाई तेल आपूर्ति गरेको आरोपमा प्रतिबन्ध लगाएको थियो । सोही जहाज पहिले अडिसा नाममा दर्ता गरिएको थियो ।
राेयटरका अनुसार जहाजले डिसेम्बर ४–५ मा वेनेजुएलाको पुर्टो होजे बन्दरगाहबाट करिब ११ लाख ब्यारेल क्रुड तेल लिएर प्रस्थान गरेको थियो ।
भेनेजुएलाली सरकारका अनुसार अमेरिकाले गरिरहेको दबाब र प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुनविपरीत छन् । राष्ट्रपति निकोलास मदुरोले यी प्रतिबन्धहरू तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आफ्ना सरकारलाई अस्थिर पार्ने योजनाको हिस्सा भएको बताउँदै आएका छन् ।
मदुरोले ट्रम्पका लगाइएको आरोप भेनेजुएला ड्रग कार्टेललाई समर्थन गर्छ भन्ने अस्वीकार गर्दै अमेरिकालाई “विपरीत परिणाम ल्याउने पागल युद्ध नछेड्न” चेतावनी समेत दिएका छन् ।
भेनेजुएलाले अमेरिकाको “साम्राज्यवादी दुरुपयोग” को निन्दा गर्दै आफ्ना सार्वभौमसत्ता, प्राकृतिक स्रोत र राष्ट्रिय मर्यादाको पूर्ण रक्षा गर्ने घोषणा गरेको छ ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया