Techie IT
Samayabaddha
शुक्रबार, १८ पुस, २०८२

एमाले नेता काशीनाथ अधिकारीले लिए राजनीतिबाट विश्राम


काठमाडौं, ४ पुस । नेकपा एमालेका निवर्तमान संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले सक्रिय राजनीतिक जीवनबाट विश्राम लिएका छन् । ६६ वर्षीय अधिकारीले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफू सक्रिय राजनीतिमा नरहने निर्णय सार्वजनिक गरेका हुन् ।

‘सक्रिय राजनीतिबाट विदा,’ उनले सञ्जालमा लेखेका छन्, ‘पचास बर्षको राजनीतिक जीवनमा ४४ बर्ष पूर्णकालिन भएर काम गरें । जति दिन काम गरें पुरा मनले गरें । इमान, निष्ठा र समर्पणकासाथ गरें । तन, मन र धन समेत दिएर निसर्त तथा निस्वार्थरुपमा गरें ।’

आफ्नो राजनीतिक यात्रालाई स्मरण गर्दै अधिकारीले जिम्मेवारी पाएपछि जसरी पनि पूरा गर्ने कार्यशैली अपनाउँदै आएको उल्लेख गरेका छन् । पद, प्रतिष्ठा वा अवसरका लागि कहिल्यै आकांक्षी नबनेको स्पष्ट पार्दै उनले अब पार्टीका कुनै पनि समिति वा निकायमा नबस्ने जनाएका छन् । यद्यपि साधारण सदस्यको हैसियतमा पार्टी, समाज र राष्ट्रको हितमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एमालेको ११औँ महाधिवेशनमा केपी शर्मा ओली नेतृत्वको प्यानलबाट उनलाई अनुशासन आयोगको अध्यक्षका रूपमा प्रस्ताव गरिएको थियो । तर, अन्य नेताहरूलाई अवसर दिनुपर्ने भन्दै अधिकारीले उम्मेदवारी दर्ता नगरेको जानकारी दिएका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट