Techie IT
Samayabaddha
शुक्रबार, १८ पुस, २०८२

त्रिविको ५१औं दीक्षान्त समारोह आज, नोबेल पुरस्कार विजेता पहिलो पटक प्रमुख अतिथि


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज विहीवार हुँदैछ । समारोहमा विश्वविद्यालयको इतिहासमा नोबेल पुरस्कार विजेतालाई पहिलो पटक प्रमुख अतिथि बनाइदैछ । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार पाएका थिए ।

दीक्षान्त समारोहमा १६ हजार ३८० विद्यार्थी दीक्षित हुँदैछन् । कार्यक्रममा ४१ हजार नागरिक सहभागी हुने अनुमान गरिएको छ । दीक्षान्त समारोहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पदक प्रदान गरिनेछ, जसमा विभिन्न संकायका विद्यार्थी छन् । विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । यसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका हुन् । 

कार्यक्रममा विभिन्न संकाय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदकसमेत पाउने छन् । त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट