Techie IT
Samayabaddha
शुक्रबार, १८ पुस, २०८२

चार जना प्रधानमन्त्री भएकै पुर्ख्यौली बस्ती उपेक्षित


सिन्धुली । सुनकोशी गाउँपालिका–१ अन्तर्गत सिउरेनी, दुम्जा क्षेत्रका स्थानीयवासी अझै पनि आधारभूत पूर्वाधारको अभावमा जीवन बिताउन बाध्य छन् । यही सिउरेनीमा बिरामी बोकेर लैजाने एम्बुलेन्स पुग्ने सडक छैन । माओवादी केन्द्रका पार्टीका गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा हाल बागमती प्रदेशका सदस्य दुधराज पुलामी स्वयं स्टेचर बोकेर बिरामी लिन गएको सामाजिक सञ्जालहरूमा हेर्न सकिन्छ । त्यसमा स्थानीय जनता पनि सहभागी छन् ।

यही वडा नम्बर १ भित्र पर्ने दुम्जा गाउँ नेपालकै राजनीतिक इतिहाससँग जोडिएको महत्वपूर्ण स्थान हो । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको पुख्र्यौली गाउँ यही हो । राणाकालपछि बनेको नागरिक सरकारका प्रथम प्रधानमन्त्री मात्रिका कोइराला हुन र २०४६ सालको जनआन्दोलनपछि २०४८ सालको निर्वाचित पहिलो प्रधानमन्त्री गिरिजा कोइराला पनि यही पुख्र्याैली गाउँका हुन् । २०७२ सालको संविधान जारी गर्ने पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पनि यहीँ घरजग्गा अझै रहेको छ । उनको भने अहिले यही पालिकाको वडा २ मा घर पर्छ । तर यति ठूलो ऐतिहासिक र राजनीतिक महत्व बोकेको गाउँ आज पनि कच्ची सडकसम्मको पहुँचबाट वञ्चित छ ।

राजनीतिक प्रतिनिधित्वका हिसाबले पनि यो क्षेत्र सधैं सक्रिय रहँदै आएको छ । माओवादी केन्द्रबाट दुई पटक स्थानीय सरकारको नेतृत्व यहीँबाट भएको छ । पालिका अध्यक्षमा राजन दाहालकी धर्मपत्नी दीपा बोहोराले दुई पटक जित हासिल गरिन् । स्वयं राजन दाहालले पनि २०७९ सालको प्रतिनिधिसभा निर्वाचन यही क्षेत्रबाट जितेका हुन् । २०६४ सालदेखि निरन्तर माओवादीले सांसद जित्दै आएको क्षेत्र भए पनि विकासका सवालमा स्थानीयको गुनासो बढ्दै गएको छ ।

मगर, तामाङ र दलित समुदायको बाहुल्य रहेको यो गरिब बस्तीमा करिब २० लाख रुपैयाँ खर्च भएमा कच्ची सडक पुग्न सक्ने स्थानीयको भनाइ छ । यो रकम पालिकाको क्षमताभित्रै पर्ने भए पनि वर्षौंदेखि माग सुनुवाइ नभएको उनीहरूको गुनासो छ ।

स्थानीय इन्द्रबहादुर बल भन्छन्, “हामीले पटक–पटक स्थानीय तहदेखि संघीय प्रतिनिधिसम्म कुरा राख्यौं, तर कसैले पनि गम्भीरतापूर्वक सुनेन ।”

स्थानीयका अनुसार, जनप्रतिनिधि, उनका निकटका व्यक्ति र पहुँचवालाका गोठसम्म सडक पुर्‍याउन करोडौं रुपैयाँ खर्च गरिएका उदाहरण छन् । तर ‘गरिबको पार्टी’ भनेर चिनिने दलका प्रतिनिधिहरूले नै यो गरिब बस्तीलाई उपेक्षा गरेको आरोप स्थानीयले लगाएका छन् । राजनीतिक इतिहाससँग गहिरो सम्बन्ध राख्ने यो गाउँ आज पनि आधारभूत सडकको प्रतीक्षामा छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट