रवि–बालेनबीच ७ बुँदे समझदारी, कुलमान बाहिरिए
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच रातभर चलेको संवादपछि सात बुँदे समझदारी बनेको छ । तर, सो समझदारीमा उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङ समेटिएका छैनन् । यसले वैकल्पिक राजनीतिक शक्ति एकीकृत गर्ने प्रयासमा नयाँ बहस जन्माएको छ ।
शनिबार रातिदेखि आइतबार बिहान करिब ४ बजेसम्म चलेको छलफलपछि रास्वपा र बालेनबीच समझदारी भएको हो । बैठक स्रोतका अनुसार, छलफल चलिरहेकै बेला कुलमान भने राति नै बाहिरिएका थिए । केही दिनदेखि जारी वार्तामा बालेनले कुलमानलाई पनि समेटेर अघि बढ्ने मोडालिटीबारे छलफल गरिरहेका थिए । तर, अन्तिम सहमतिमा उनको नाम अटाएन ।
यसको पृष्ठभूमिमा उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटी बैठकले वैकल्पिक शक्ति एक ठाउँमा ल्याउने प्रस्ताव अस्वीकार गरेको निर्णयलाई महत्वपूर्ण रूपमा हेरिएको छ । उक्त बैठकले रवि लामिछाने सभापति र बालेन शाह प्रधानमन्त्रीको उम्मेदवार हुने मोडेल स्वीकार नगर्ने निर्णय गरेको थियो । त्यस निर्णयपछि शनिबार बेलुकी बालेन र कुलमानबीच बालुवाटारमा छुट्टै एक–एक संवाद भएको थियो ।
रास्वपा र बालेनसँग संवादमा रहेका उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डा. अभिषेक सिंहका अनुसार, दुई नेताबीच बेलुकी ७ बजेदेखि वार्ता भएको भए पनि के–कस्ता विषयमा कुरा भयो भन्नेबारे स्पष्ट जानकारी बाहिर आएको छैन । कुलमान निकट नेताहरूका अनुसार, उनी सम्मानजनक भूमिकाको खोजीमा थिए । विगतमा रवि लामिछाने कारागारमा रहेका बेला समेत पार्टी एकीकरणका विषयमा छलफल भइरहेकाले यसपटक पनि उनले सोही अपेक्षा गरेका थिए ।
रास्वपा नेताहरू भने बालेनसँग मात्र तत्काल समझदारी गरेर अघि बढ्ने पक्षमा देखिएका छन् । यद्यपि, बालेन पक्षले कुलमान र अन्य युवा समूहलाई समेत समेटेर जानुपर्ने प्रस्ताव राख्दै ५० प्रतिशत सहभागिताको कुरा अघि सारेको बताइन्छ ।
यसअघि रास्वपाले विवेकशील साझा पार्टीसँग एकीकरण गरेपछि १४ मंसिरमा बालेन र कुलमानबीच भेट भएको थियो । त्यस भेटपछि कुलमानले सामाजिक सञ्जालमा बालेनसँगको तस्बिर सार्वजनिक गर्दै ‘देश बनाउने अभियानमा सँगै छौं’ लेखेका थिए । तर, रास्वपा–बालेनबीच छुट्टै समझदारीको तयारी भएपछि कुलमानले असन्तुष्टि जनाएका हुन् ।
हालको समझदारीमा छुटे पनि उज्यालो नेपाल पार्टीभित्र वैकल्पिक शक्ति एकीकृत हुनुपर्ने मत भने बलियो रहेको छ । यसले आगामी दिनमा फेरि एकता हुने संभावनालाई भने पुरै नकार्न सकिन्न । पार्टीका नेताहरूले आत्मसम्मानभन्दा राष्ट्रिय निकास महत्वपूर्ण भएको बताउँदै यस विषयमा छलफल जारी रहने बताएका छन् । रास्वपा–बालेन समझदारीले लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा अन्य वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिलाई आह्वान गर्ने उल्लेख गरेको छ ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया