Techie IT
Samayabaddha
शुक्रबार, १८ पुस, २०८२

फेसन डिजाइनिङका बादशाह शम्भुको फराकिलो सपना


शंकर तिमल्सिना

प्रसिद्ध अमेरिकी लेखक, दार्शनिक, अभियन्ता तथा इतिहासविद् हेनरी डेभिड थोरोले भनेका छन्– ‘तिमी आफू नराम्रो छु भन्ठान्नुपर्दैन, कसै न कसैका लागि धपक्क बलेको हुनेछौ ।’ हुन पनि कोहीको नजरमा नराम्रो देखिएको त्यही व्यक्ति अरु कोहीको नजरमा भने सुन्दर÷सुन्दरी हुन्छ । यस अर्थमा राम्रो र नराम्रोको कुनै मापदण्ड हुँदैन । तर, मानव स्वभाव न हो ऊ कहिल्यै पूर्ण सन्तुष्ट हुँदैन । फेरि, आफूसुहाउँदो पहिरनमा चिटिक्क पर्ने, आकर्षक देखिने चाहना कुन मानिसमा नहोला र ? तर, अफसोच सबैले चाहेर यस्तो रहर पूरा हुँदैन । कतिको शारीरिक बनावटले साथ दिँदैन त कतिपयको पहिरनले । त्यसका लागि त समय–परिस्थिति अनुकूलको फेसन डिजाइनरकै अपरिहार्यता रहन्छ । परिणाम त पछिल्ला दिनमा फेसन डिजाइनरको माग र इज्जतसमेत बढ्दो छ । यस्तै दीर्घकालीन महत्व बुझेर उनी व्यवसायिकरुपमा नै यस क्षेत्रमा समर्पित भएका हुन् । अहिले उनको सोच अनि सपना पनि आंशिकरुपमा पूरा भएको छ । प्रसंग– नेपालदेखि अमेरिकासम्म चम्किएका नयाँ पुस्ताका फेसन डिजाइनर शम्भु पुरीको हो ।

झट्ट हेर्दा सामान्य युवकजस्तो लागे पनि वास्तविकताको गहिराइमा पुग्दा थाहा हुन्छ कि शम्भु विलक्षण प्रतिभाका मूर्ति हुन् भनेर । आफ्नो लक्ष्यमा सफलता हासिल गर्नु उनको पर्याय नै हो । छोटै समयको अन्तरालमा फेसन डिजाइनिङमा निपूर्ण भएर उनी करिव एक दशकदेखि उत्कृष्ट सेवा दिँदै आएका छन् । र त धेरै व्यक्ति तथा क्षेत्रको पहिलो रोजाइमा परेका छन् । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैं सानैदेखि अध्ययनमा अब्बल, जिज्ञासु स्वभाव र तीक्ष्ण बुद्धिका शम्भुको बाल्यकालदेखिकै सोच र सोख पनि साथीसंगीको तुलनामा पृथक् रह्यो । संघर्षमय रह्यो उनको जीवन । ४ दाजुभाई तथा ४ दिदीबहिनीमध्ये अन्तिम सन्तानको रुपमा पैतृक थलो काभ्रेपलाञ्चोक जिल्लाको मण्डन–देउपुर जन्मिएका शम्भु ६/७ वर्षको हुँदा बुबा ज्ञानुको अल्पायुकै निधन भएपछि आमा कुन्तीको अभिभावकत्वमा काठमाडौंको बूढानीलकण्ठ आइपुगेका हुन् ।

शम्भुको माध्यमिकतहसम्मको अध्ययन स्थानीय विद्यालयमा नै भयो । त्यसपछि पढाईको गति र क्षमता हेरेर घरपरिवारले उनलाई डाक्टर बनाउने सपना देखे । ‘तर, मैले त्यो मानिन, किनकी मैले साइन्स विषय अध्ययन गर्नु वा डाक्टर बन्न खोज्नु भनेको हाम्रोजस्तो विपन्न परिवारलाई ५०/६० लाख रुपैयाँको ऋणको बोझ बोकाउनु हो’ शम्भु त्यो क्षण स्मरण गर्छन्– ‘अनि सानैदेखि आकर्षक बन्न रुचाउने, घर बस्दा होस् या विद्यालय जाँदा वा बाहिरफेर कतै निस्कँदा नै किन नहोस् आफूलाई एक्ट्रा देखाउन चाहने मेरो स्वभाव नियालेर दाई–दिदीहरूले फेसन कलेजमा भर्ना गरिदिनुभयो ।’

छात्राहरूको बाहुल्य रहेको फेसन कलेजमा केही समय त शम्भुलाई नौलो र असहज पनि भयो । यद्यपि बिस्तारै बानी प¥यो । ‘असम्भव केही छैन’ भन्ने सूत्रलाई सदा अंगिकार गर्ने उनले त्यहाँ पनि सैद्धान्तिक र व्यवहारिक अध्ययनमा राम्रो फट्को मरे । त्यही दौरानमा शम्भुले साथीभाई र अन्य परिचित–अपरिचितहरूको मागअनुरूप फेसन डिजाइनिङमा आफ्नो कला देखाउन थाले । त्यो सवैले रुचाए पनि । ‘त्यही भएर होला– सबैतिर मेरो चर्चा–प्रशंसा हुन थाल्यो’ उनी सन्तुष्टि व्यक्त गर्दछन् । हुन पनि त्यतिबेलादेखि अहिलेसम्म शम्भुको त्यो विशेषतामा कुनै क्रमभंग आएको छैन, बरु समयानुकूल थप बढ्दो छ ।

यस्तयस्तैमा एक दिन कलेजबाहिर सहपाठीहरूसँग गफिँदै गर्दा शम्भुको भेट नायक आयेन सिग्देलसँग भयो । उनले सिग्देलसामु आफूले चलचित्रको पनि फेसन डिजाइनिङ गर्न चाहेको सुनाए । सिग्देलले उनको अनुरोधलाई तत्कालै स्वीकार गरी निर्मातासमक्ष पु¥याए । अनि निर्माताले पनि त्यो जिम्मा शम्भुलाई दिए । फलतः अब शम्भुको काँधमा चलचित्र ‘डिसेम्बर फल्स’को फेसन डिजाइनिङ गर्ने जिम्मा आइलाग्यो । उनले त्यो सहजै पूरा गरे । त्यसपछि भने शम्भुको फेसन डिजाइनिङको यात्रा अर्को अध्यायमा उक्लियो ।

उसो त शम्भुले अहिलेसम्म दर्जनौ राष्ट्रिय÷अन्तर्राष्ट्रिय व्यक्तिचित्र, वृत्तचित्र, विज्ञापन, टेलिभिजन कार्यक्रम, फेसन सो, म्युजिक भिडियो, टेलिचलचित्र तथा ठूलो पर्दाका चलचित्रमा फेसन डिजाइनिङमा कला देखाइसकेका छन् । त्यसमा उनले राम्रो सफलताको ख्याति पनि कमाएका छन् । नेपाली फिचर फिल्महरू ‘डिसेम्बर फल्स’, ‘गणपति’, ‘म्याउँ’, ‘११ः५५’, यसैको केही उदाहरण हुन् । यसैगरी, उनले फेसन डिजाइनिङ गरेका ‘साहु बा’, ‘काजी’ आदि प्रदर्शनको प्रतीक्षामा छन् । त्यस्तै, राष्ट्रिय स्तरका चर्चित टेलिभिजन तथा रियालिटी शोहरू ‘हिमालय रोडिज’ सिजन–५ र सिजन–६, ‘द पोएट आइडल’ सिजन–१ र सिजन–२, ‘२०२४’, ‘मुन्द्रेको कमेडी क्लब’ सिजन–३ मा समेत शम्भुले फेसन डिजाइनिङबाट चमत्कारिक कला देखाएका छन् । यतिमात्रै होइन, म्युजिक भिडियो फेसन डिजाइनिङमा पनि करिव ३ दर्जनमा स्वाद चखाइसकेका छन् ।

यस्तै, प्रख्याति कमाएका लोकप्रिय गायक–गायिकाहरू स्मिता दाहालको ‘ज्यान माया’, लीला गजमेरको ‘पियार’, हरिवंश आचार्यको ‘काउली’, कमल खत्रीको ‘तिमी मुस्कौना’, उर्गेन डोङ र अस्मिता अधिकारीको ‘टाढा भए पनि–२’, कुमार सानु र देवीका बन्दनाको ‘तिम्रो मायाको सगरमा’, मिस्टर डीको ‘रातो रगत’, अस्मिता अधिकारीकै ‘मखमली’, रेखा शाहको ‘सिमसिमे पानीमा’, राजु लामाको ‘झरनाको चिसो पानी’, हिमाल सागरको ‘आहा माया’, किरण गजमेरको ‘कुनै दिन’, रोशन अधिकारी र अस्मिता अधिकारीको ‘सलल’ लगायत बोलका गीतको भिडियोमा पनि शम्भुकै फेसन डिजाइनिङ छ । यसैगरी, सनसिल्क, सामसुङ, बर्जर पेन्ट्स, स्प्राइट, पबजी मोबाइल, होन्डा नेपाल, लक्ष्मी सनराइज बैंक, न्यानो डायपर, डिएचआइ, मेन्टो फ्रेश, हालको मसला आदि उच्च कोटीका तीन दर्जनजति व्यवसायिक विज्ञापनको भिडियोमा समेत उनकै फेसन डिजाइनिङ रोजाइमा परेका छन् ।

रोचक पक्ष त के भने नेपालका अग्रपंक्तिमा आउने नायक–नायिका, मोडल एवं ‘सेलिब्रेटी’हरू आयेन सिग्देल, उपासना सिंह ठकुरी, मिरुना मगर, मनिषा कोइराला, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, अनमोल केसी, केकी अधिकारी, नेहा बानु, सरिशा श्रेष्ठ, शिल्पा मास्के, प्रियंका रानी जोशी, विपिन कार्की, वर्षा शिवाकोटीलगायतले पनि शम्भुकै फेसन डिजाइनिङ रोजेका छन् ।

फेरि, शम्भुको अध्ययन विज्ञताको विषय पनि त यही हो । सुरुमा नमुना कलेज अफ फेसन टेक्नोलोजी अध्ययन गरेका उनले फेसन डिजाइनिङ र म्यानेजमेन्टमा स्नातक डिग्री पनि पूरा गरे । पछिल्लो चरणमा फेसन डिजाइनिङमा अग्रणी र चर्चित अमेरिकाको न्यूयोर्कस्थित एलआईएम कलेजबाट फेसन मार्केटिङ एण्ड म्यानेजमेन्टमा मास्टर अफ प्रोफेशनल स्टडीज (एमपीएस) पूरा गरेका छन् ।

यस अर्थमा त शम्भु दर्जनौ सम्मान, पुरस्कार तथा अवार्डबाट अभिनन्दित छन् । ‘८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड–२०२५’ संयुक्त राज्य अमेरिका, न्यूयोर्क (सर्वोत्कृष्ट फेसन डिजाइनर) तथा ‘१२औं म्युजिक खबर म्युजिक अवार्ड–२०२४’ नेपाल (ज्यान माया म्युजिक भिडियोका लागि) आदि यसैका ज्वलन्त नमुना हुन् । यतिमात्रै होइन, विज्ञ फेसन डिजाइनर भएकै नाताले फेसनसँग सम्वन्धित थुप्रै प्रतियोगितामा उनले कुशल निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् । ‘नमुना कलेज अफ फेसन टेक्नोलोजीको १६औं स्नातक फेसन शो’ (डिसेम्बर २७, २०२१), ‘भोग्क्स २ मिनिस्ट्री बार एण्ड क्याफे, काठमाडौं’ (जनवरी २०, २०२४), ‘मिस नेपाल नर्थ अमेरिका–ग्रान्ड फिनाले’, मेलरोज बलरूम, न्यूयोर्क (अगस्ट ०२, २०२५) लगायतलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ । र पनि शम्भुमा कुनै त्यस्तो दम्भ छैन । बरु, आफ्नो कला प्रयोगमा ल्याएर देखाउँछन् । भनाइ नै छ– ‘फल भएको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?’ हो– जोकोहीले पनि यही कोटीको उपाधि दिन्छन् उनलाई । ‘यो नै मेरा लागि सबैभन्दा ठूलो सम्पत्ति हो’ शम्भु खुसी व्यक्त गर्छन्– ‘फेसन डिजाइनकै क्षेत्रमा सुन्दर भविष्य देखेको छु, लक्ष्य–उद्देश्यनिकट पुगेको छु र छिट्टै सफलता चुम्नेछु ।’


क्याटेगोरी : मनोरञ्जन

प्रतिक्रिया


ताजा अपडेट