Techie IT
Samayabaddha
शुक्रबार, १८ पुस, २०८२

रुकुम पूर्वबाट पठाइयो निर्वाचन लड्न प्रचण्डलाई औपचारिक अनुरोध, प्रचण्ड नआए गम्भीर क्षति हुने चेतावनी !


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यका लागि संयोजक प्रचण्डलाई प्रत्यक्ष निर्वाचन लड्न अनुरोध पत्र पठाएको छ । जनयुद्धको ऐतिहासिक पृष्ठभूमि र रुकुमेली जनताको भावना र अपेक्षालाई ध्यानमा राख्दै आगामी प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्व जिल्लामा प्रचण्डको उपस्थिति अपरिहार्य रहेको निवेदन पत्रमा बताइएको छ । जिल्लाका विभिन्न तहका १८ जना नेता तथा कार्यकर्ताहरुले पार्टीका संयोजक प्रचण्डको नाममा लेखेको औपचारिक पत्र पार्टी केन्द्रीय कार्यालय, केन्द्रीय समिति र जिल्ला पार्टीलाई पनि बोधार्थ गराइएको छ ।

संयोजक प्रचण्डको नाममा लेखिएको पत्रमा भनिएको छ “रुकुम दश वर्षे जनयुद्धको जगमा उभिएको, शहीद, घाइते र संघर्षशील जनताको भूमि । यही रुकुमले देशको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न ऐतिहासिक भूमिका निर्वाह गरेको थियो । तर २०६४ सालपछि यस जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले अपेक्षित विकास, सामाजिक न्याय र दुरदर्शी पहल पूरा गर्न सकेनन् फलस्वरुप, आज पनि रुकुम शिक्षा, स्वास्थ्य, सञ्चार, सडक र विकासका आधारभूत सेवा–सुविधाबाट समुचित रुपमा जोडिन सकिरहेको छैन ।”

फागुन २१ को निर्वाचनको लागि प्रतिनिधि सभा निर्वाचन लड्न सिफारिसमा परेका पार्टी केन्द्रीय समिती सदस्य कैलास मल्ल, जिल्ला सदस्य गोपाल पुन, हेराम खड्का, अखिल क्रान्तिकारीका प्रदेश सचिव जयकुमार श्रेष्ठ, कोषाध्यक्ष मदन रावल, अखिल क्रान्तिकारीका जिल्ला सचिव अम्मर खत्री, जिल्ला सदस्य विकास खड्का, प्रेस सेन्टरका प्रदेश सचिव जितेन्द्र बुढाथोकी, नेकपाका युवा नेता धनिसाइ घर्ती मगर, विरमान पुन, केबिन्द्र गौतम, राजुरेग्मी, भरत मल्ल, देवा रोका मगर, वाइसिएल नेपालका प्रदेश सदस्य विकास पुन, जिल्ला सदस्य नामेन्द्र सुनार, वाईसिएल नेपालका पुथा पालिका अध्यक्ष शुकराज वि.क., अनुशासन आयोगका सदस्य श्याम शेर्पालीको हस्ताक्षरसहित हालिएको निवेदनमा रुकुम पूर्वका जिम्मेवार सदस्य, शुभेच्छुक तथा आम जनताको तर्फबाट निम्न बुँदामा औपचारिक माग राखिएको उल्लेख छः

  •  पार्टी केन्द्रबाट जारी आधिकारिक सर्कूलर, उम्मेवार छनौट मापदण्ड, पार्टी विधान तथा राजनीतिक–नैतिक मूल्य–मान्यताको पूर्ण पालना हुनुपर्ने ।
  • हाल गरिएको उम्मेद्वार सिफारिस तत्काल बदर गरी रुकुम पूर्वबाट पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधि सभा सदस्यका लागि एकल रुपमा सिफारिस गरियोस्।
  • यस निर्णयले शहीद परिवार, घाइते, संघर्षशील जनता र आम जनताको विश्वास, न्यायोचित अपेक्षा र क्रान्ति भूमि रुकुमको सम्मान सुनिश्चित गर्नुपर्छ ।
  • यदि उक्त माग समयमै सम्बोधन भएन भने, त्यसबाट उत्पन्न हुने राजनीतिक, संगठनात्मक र निर्वाचनगत क्षतिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित नेतृत्वले बहन गर्नुपर्ने छ भन्ने चेतावनी हामी गम्भीरतापूर्वक दिन चाहन्छौं ।
  • हामी दृढ विश्वास गर्छौं कि पार्टीको हित, आन्तरिक लोकतन्त्र, ऐतिहासिक जिम्मेवारी र संवैधानिक मूल्यको रक्षा गर्ने उद्देश्यसहित रुकुमेली जनताको स्पष्ट चाहना अनुसार यो विषय उच्च प्राथमिकताका साथ न्यायोचित निर्णय गरिनेछ ।
  • शहीद, घाइते र आम जनताको अपेक्षा, पार्टीको एकता, अनुशासन र वैचारिक स्पष्टताको लागि यस जिषयलाई गम्भीरतापूर्वक विचार गरी शीघ्र निर्णय लिन तपाईको ध्यानाकर्षण गराउँछौं ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट