काठमाडौं ५ मा ईश्वर पोखरेलको नाम सर्वसम्मत सिफारिस
काठमाडौं । नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ५ क्षेत्रीय कमिटीले पार्टीका नेता ईश्वर पोखरेललाई फागुन २१ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ ।
निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले पोखरेल उपयुक्त उम्मेदवार भएको निष्कर्ष निकालेको जनाएको छ । काठमाडौं–५ पोखरेलले नियमित निर्वाचन लड्दै आएको क्षेत्र हो । उनी काठमाडौं ५ क्षेत्र अन्तर्गत पर्ने थापासीमा बसोबास गर्छन । ईश्वरले काठमाडौं–५ बाट २०७४ को वाम गठबन्धन भएको बेला मात्रै चुनाव जितेका थिए । २०७९ को निर्वाचनमा पोखरेलले कांग्रेस नेता प्रदिप पौडेलसँग निर्वाचन हारेका थिए । त्यतिबेला नेकपा माओवादी केन्द्रको नेपाली कांग्रेससँग गठबन्धन थियो ।
त्यसैले काठमाडौं ५ को निर्णायक मत माओवादी केन्द्रको मानिएको छ । अहिले माओवादी केन्द्रले कसैसँग गठबन्धन नगर्ने निर्णय गर्दै आफ्नै उम्मेद्वार सिफारिस गरेको छ । माओवादी केन्द्रले काठमाडौं ५ मा पूर्व प्रदेश सभा सदस्य तथा नेकपाको केन्द्रीय सदस्य सीता अधिकारी, अर्का केन्द्रीय सदस्य कल्पना शर्मा तथा युवा नेता सुरेन्द्र केसीलाई सिफारिस गरेको छ ।
क्षेत्र नम्बर ४ मा नेकपा एमालेबाट यसअघि उम्मेदवार हुँदै आएका पार्टीका अहिलेका सचिव राजन भट्टराईले पनि क्षेत्र नम्बर ५ बाट यसपालि उम्मेदवार हुन चाहेका थिए तर सिफारिसमा परेनन् ।
यदि ईश्वर पोखरेलले निर्वाचन लड्ने चाहना राखेनन् भने एमालेका नेता नारायण शिलवाल, किरण शाह ठकुरी, दीपक निरौला, दीपेन्द्र श्रेष्ठ, शान्ति अधिकारीको नाम सिफारिस भएको छ । ईश्वर पोखरेल नउठेको खण्डमा मात्र उहाँहरूमध्ये एक जना उम्मेदवार हुने गरी सिफारिस गरिएको निकट स्रोतले बतायो ।
क्याटेगोरी : राजनीति


















प्रतिक्रिया