नयाँ संविधानपछिको १० वर्षमा ९ सरकारः जनतामा बढ्दैछ तिरस्कार
नेपालमा संविधानसभाको निर्वाचनबाट नयाँ संविधान जारी भएपछिको १० वर्षको अवधिमा ९ पटक सरकार परिवर्तन भएका छन् । तर, सत्तामा तीन ठूला दलको नेताको घोषित÷अघोषित आलोपालो चलिरह्यो । पछिल्लो चरणमा भदौ २३ को जेनजी आन्दोलनसँगै २६ गते सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश सुशील कार्कीनेतृत्वको गैरदलीय सरकार गठन भयो । त्यसअघिसम्म कहिले नेकपा (एमाले)का अध्यक्ष केपी ओली, कहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त कहिले तत्कालीन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहे ।
२०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि २०७२ असोजमा ओलीले माओवादीसँग सत्ता साझेदारी गरे । २०७४ को निर्वाचनमा भने वाम गठबन्धन गरी पार्टी एकताको उद्देश्य राखियो । सोही अनुसार ओली नै माओवादीको साथ लिएर प्रधानमन्त्री बने । लगत्तै दुई पार्टीबीच एकता पनि भयो । त्यसरी गठन भएको नेकपाका एक जना अध्यक्षको रुपमा उनी प्रतिनिधि सभामा झन्डै दुई तिहाइको समर्थनसहितको प्रधानमन्त्री बनेका हुन् ।
२०७८ वैशाखमा भने ओली अल्पमतको प्रधानमन्त्री बने । वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएका उनी वैशाख ३० मा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नियुक्त भए ।
२०५२, २०५८ र २०६१ मा गरी तीनपटक प्रधानमन्त्री भइसकेका देउवा संविधान जारी भएपछि पनि दुई पटक प्रधानमन्त्री नियुक्त भइसकेका छन् । उनी २०७४ जेठ र २०७८ असारमा पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् । प्रचण्ड पनि संविधान जारी भएपछि तीन पटक प्रधानमन्त्री बनिसकेका छन् । पहिलो संविधान सभाको निर्वाचनपछि २०६५ साउनमा पहिलोपटक प्रधानमन्त्री बनेका उनी संविधान जारी भएपछि २०७३ साउन र २०७९ पुसमा दोस्रो र तेस्रो पटक प्रधानमन्त्री बनेकाहुन् । दोस्रो कार्यकालमा कांग्रेससँग सत्ता साझेदारी गरेका प्रचण्डले तेस्रो कार्यकालमा भने एमाले र कांग्रेससँग साझेदारी हेरफेर गरे ।
सत्ता साझेदारीका लागि आफूबाहेककै दुईमध्ये एकको साथ लिने गरेका नेताहरू गाली पनि गरिरहने, सत्ता साझेदारी पनि गरिरहने अनौठो खेल प्रदर्शन गर्छन् । यसका लागि उनीहरूले ‘राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन्’ भन्ने तर्कको सहारा लिने गरेका छन् । एक अर्कालाई जतिसुकै गाली गरेपनि उनीहरूलाई स्वार्थले एक ठाउँमा ल्याउने गरेको कसैबाट छिपेको छैन ।
२०७२ असोज २४ मा ओली प्रधानमन्त्री बन्दा माओवादीले सघायो । अघिल्लो दिन दुई पार्टीबीच भएको १४ बुँदे सहमतिमा सत्ताको नेतृत्व आलोपालो गर्ने विषयमा केही उल्लेख नभएकाले सोही वर्ष भएको कांग्रेसको महाधिवेशनबाट देउवा सभापति निर्वाचित भएपछि उनले प्रचण्डसँग सत्ता साझेदारीको प्रयत्न गरे । फलतः २०७३ वैशाखमा कांग्रेसको सहयोगमा प्रधानमन्त्री हुनका लागि प्रचण्ड अघि बढिसरहँदा ओलीले प्रचण्डसँग रातारात ९ बुँदे सहमति गर्दै सत्ता हेरफेरको सम्भावनालाई तत्कालका लागि स्थगित गरिदिए ।
त्यतिबेला बजेट घोषणापछि प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने र वाम सहयात्रा कायम राख्ने गरी गोप्य तीन बुँदे सहमति पनि भएको बताइन्छ । तर, त्यो सहमति टिकेन, असारमा देउवा र प्रचण्ड पुनः नजिकिए । अन्ततः सात बुँदे सहमति गर्दै ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याए । जसकारण ओली पदमुक्त हुनुप¥यो । कांग्रेससँगको साझेदारीबाट प्रचण्ड प्रधानमन्त्री बने । उनले २०७४ जेठमा देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो पदबाट राजीनामा दिए ।
२०७४ जेठमा देउवाले माओवादीसँगको साझेदारीमा सरकारको नेतृत्व गरे । तर, सोही वर्ष मंसिरमा हुन थालेको निर्वाचनलाई लक्षित गर्दै असोजमै एमाले र माओवादी एक ठाउँमा उभिए । उनीहरूले गठबन्धन बनाएर निर्वाचनमा भाग लिने र कालान्तरमा पार्टी एकता गर्ने सहमति गरे । निर्वाचनपछि फागुनमा ओली प्रधानमन्त्री बने । २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकता भयो । ओली र प्रचण्डले एकएक जना नेताहरू विष्णु पौडेल र जनार्दन शर्माको उपस्थितिमा गरेको सहमतिमा ‘समानता र समान अवधिका आधारमा आवश्यकता अनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख भए पनि त्यो कार्यान्वयन हुन पाएन । पार्टीभित्रको द्वन्द्व चर्किएपछि २०७७ पुस ५ मा ओलीले प्रतिनिधि सभा विघटन नै गरिदिए । सर्वोच्चको फैसलामार्फत् नेकपाको एकता पनि खारेज भयो ।
अल्पमतको प्रधानमन्त्री रहेकै बेलामा ओलीले २०७८ जेठ ७ गते पुनः प्रतिनिधि सभा विघटनको सिफारिस गरे । जुन, जेठ ८ गते मध्यरातमा राष्ट्रपतिबाट अनुमोदन भयो । त्यतिबेला माओवादी, एमालेकै माधव नेपाल पक्ष, जसपा नेपालका उपेन्द्र यादव पक्षले देउवालाई प्रधानमन्त्रीका लागि अघि सारे । उनी २०७८ असारमा प्रधानमन्त्री बन्न सफल भए ।
देउवा सरकारले २०७९ मंसिरमा निर्वाचन गराएपछि प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने भद्र सहमति भएको बताइए पनि निर्वाचनमा आफ्नै पार्टी ठूलो बनेपछि देउवा आफैं प्रधानमन्त्री बन्ने प्रयत्न गरे । तर, प्रचण्ड एमालेको साथमा २०७९ पुस १० मा प्रधानमन्त्री बने । त्यतिबेला पनि प्रचण्ड र ओलीबीच सत्ता साझेदारीको सहमति भएको बताइन्छ । तर दुई महिनापछि नै प्रचण्डले पुनः कांग्रेससँग साझेदारी गरे ।
२०८० फागुनमा प्रचण्डले पुनः एमालेसँगै साझेदारी गरे । यसक्रममा भने आलोपालोको सहमतिको खासै चर्चा भएन । बरु प्रचण्ड आफैं पाँचै वर्ष प्रधानमन्त्री बन्ने सम्भावना दर्साउन थाले । उनलाई विस्थापन गर्ने गरी कांग्रेस र एमालेबीच २०८१ असार १७ गते राति सहमति भयो ।
उसो त पार्टी सत्ता र राज्य सत्तामा पुराना नेताहरूलाई विस्थापन गरिनुपर्ने भनेर जतिसुकै बहस भए पनि बर्षौंदेखि केही नेताकै रजगज चलिरहेको देखिन्छ । जस्तो कि, कांग्रेस सभापति शेरबहादुर देउवा २०५२ सालमै प्रधानमन्त्री बनिसकेका थिए । सोही वर्ष जन्मिसकेको बच्चाको उमेर अहिले २९ वर्ष पुगिसक्यो । यसबीचमा समाजको रुचि, प्राथमिकता र आकांक्षामा कैयौं बदलाव आइसक्यो । तर, देउवा प्रधानमन्त्रीको दौडमा अग्रपंक्तिमै छन् । ओली र दाहाल पनि उमेरले सात दशक पुगिसके । पटकपटक पार्टी सत्ता र राज्य सत्ताको नेतृत्व गरिसकेकाले उनीहरूबाट नयाँपनको अनुभूति नहुने प्रतिक्रिया पाइन्छ ।
त्यसो त देउवा, ओली र दाहालले प्रतिनिधित्व गर्ने पार्टीभित्र पुस्तान्तरणको बहस नचल्ने गरेको होइन । सामान्य पहलकदमी पनि हुने गरेको छ । तर, परिणाम ल्याउन सकेको छैन । नेपालको संविधानमा राष्ट्रपति जस्ता पदमा कति कार्यकाल रहन पाउने स्पष्ट व्यवस्था गरिएको छ । तर, प्रधानमन्त्रीको हकमा केही लेखिएको छैन । प्रधानमन्त्री पनि कति कार्यकाल बन्न पाउने भनेर संविधानमै लेख्ने हो भने सुधार हुनसक्ने कतिपयले धारणा राख्ने गरेको पाइन्छ । निश्चित कार्यकालमात्रै प्रधानमन्त्री हुन पाइने बाध्यकारी व्यवस्था हुँदा केही महिने प्रधानमन्त्री हुनका लागि दौडधुप गर्ने प्रवृत्ति बन्द हुने उनीहरूको तर्क छ । तथापि जो प्रधानमन्त्रीका सम्भावित उम्मेदवार हुन्, उनीहरू नै सहमत नहुँदासम्म संविधान संशोधन हुने स्थितिचाहिँ छैन ।
संविधान जारी भएपछि को कहिले प्रधानमन्त्री भए ?
केपी ओलीः २०७२ असोजदेखि २०७३ साउनसम्म
प्रचण्डः २०७३ साउनदेखि २०७४ जेठसम्म
शेरबहादुर देउवाः २०७४ जेठदेखि २०७४ फागुनसम्म
केपी ओलीः २०७४ फागुनदेखि २०७८ वैशाखसम्म
केपी ओलीः २०७८ वैशाखदेखि २०७८ असारसम्म
शेरबहादुर देउवाः २०७८ असारदेखि २०७९ पुससम्म
प्रचण्डः २०७९ पुसदेखि २०८१ असारसम्म
केपी ओलीः २०८१ असारदेखि २०८२ भदौसम्म
सुशीला कार्कीः २०८२ भदौदेखि
क्याटेगोरी : राजनीति


















प्रतिक्रिया