शक्ति वस्नेतलाई प्रचण्डले चौथो पटक टिकट दिएपछि पार्टीभित्र व्यापक असन्तुष्टि !
सुर्खेत । २०६४ बाट पटक–पटक जिल्लाबाट निर्वाचित भएका नेकपाका नेता शक्ति बस्नेतले चौथो पटक पनि अरु आकांक्षीहरुलाई पछि पार्दै टिकट हत्याउन सफल भएपछि जाजरकोट पार्टीमा खैलाबैला मच्चिएको छ । उनले अघिल्लो निर्वाचनमै जिल्लाका नेताहरूसँग अर्काे चुनाव नलड्ने बताएका थिए । उनी जाजरकोट त्यति नजाने त्यहाँका कार्यकर्ताहरुले बताउँछन् ।
त्यसो त बस्नेतले काठमाडौंको बुढानिलकण्डमा आलिशान बंगला खरिद गरेर यतै बस्ने गरेको उनी निकट स्रोतले बताएको छ । जाजरकोटबाट तेस्रोपटक निर्वाचन जितेर पनि त्यहाँका जनताको लागि न्युनतम काम नगरेको जनगुनासो व्यापक छ । उनैले अहिले चौथोपटक टिकेट लिएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जाजरकोटमा ठूलो विवाद सिर्जना भएको छ ।
आइतबार उम्मेदवारका आकाङ्क्षी रहेका नेकपा केन्द्रीय सदस्य तथा साबिक माओवादी जाजरकोटका इन्चार्ज गणेशप्रसाद सिंहले पार्टी नै परित्याग गरेका छन् ।
यस्तै अर्का आकाङ्क्षी रामदीप आचार्यले असन्तुष्टिका १० बुँदा सार्वजनिक गरेका छन् । पार्टीभित्र बौद्धिक नेताको छवि बनाएका आचार्यले आफूले कुनै भिख नमागेको तर सगौरव टिकट माग गरेको बताएका छन् ।
‘अरूले दाबी गर्दा समाजवादका लागि र मैले दाबी गर्दा अवसरवाद हुँदैन होला,’ शक्ति बस्नेततर्फ सङ्केत गर्दै उनले भनेका छन्, ‘भिख मागेको होइन, सगौरव दाबी गरेको हुँ, म कमरेडद्वेषी र मत्स्यन्यायको विपक्षमा छु ।’
जिल्लाबाट सिफारिस भएका कमरेडहरूको बीचमा एकपटक मात्रै पनि सामूहिक छलफल गरेको भए जिल्ला इन्चार्जले नै पार्टीबाट राजीनामा दिनुपर्ने अवस्था नआउने उनले बताए ।
जाजरकोटका युवानेता रामदिप आचार्यको अपिल
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका प्रत्यासी जाजरकोटी आम जनताले यो निर्वाचनमा रुचाएका युवा नेता रामदिप आचार्यले फेसबुकपेज मार्फत १० बुँदे अपिल सार्वजनिक गरेका छन :
१. प्रतिनिधिसभा निर्वाचन–जाजरकोट उम्मेदवार छनोट
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत जाजरकोट उम्मेदवार छनोटका सन्दर्भमा उठेका सवालहरूलाई मैले गम्भीरतापूर्वक लिएको छु । शंका, अपेक्षा र विश्वास गर्नुहुने सम्पूर्ण कमरेड तथा जनसमुदायप्रति हार्दिक आभार व्यक्त गर्दछु । तपाईंहरूको भरोसा निरन्तर कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
२. अभिव्यक्तिको द्विविधाप्रति सचेतता
पार्टीभित्र मात्र सुनिने गरी बोल्दा ‘दास र लास’ भन्ने र पार्टीबाहिर जनताले पनि सुन्ने गरी बोल्दा ‘अराजक’ ठहरिने अवस्थाप्रति म पूर्णतः सचेत छु ।
३. निर्वाचनको ऐतिहासिक पृष्ठभूमि
आउँदो फागुन २१ गते हुने निर्वाचन कुनै सहज प्रक्रियाको उपज होइन । दर्जनौँ युवाहरूको बलिदान, न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकासहित खरबौँ सम्पत्तिको खरानीमाथि यो निर्वाचन उभिएको छ । जनता, कार्यकर्ता र देश हारिरहने तर हामी नेताहरू मात्र जितिरहने अवस्थाले गम्भीर संकट सिर्जना गरेको छ । त्यो संकट न त टरेको छ, न त सरेको नै—आज पनि हाम्रो शिरमाथि मडारिइरहेको छ ।
४.उम्मेदवारी दाबीको आधार
समयको माग र आत्मगत चाहनाको मेलका रूपमा मैले उम्मेदवारी दाबी गरेको हुँ । म पार्टीको साधारण कार्यकर्ता हुँ, न विलक्षण प्रतिभाशाली, न कुनै युद्ध नायक । नायक र वीरहरूले होइन, जनताले इतिहास बनाउँछन भन्ने दर्शन र सिद्धान्तमा म दृढ विश्वास गर्दछु ।
५. नेपाली विशेषताको समाजवाद
नेपाली विशेषताको समाजवाद नेता, कार्यकर्ता र जनताको सामूहिक मेहनतको प्रतिफलका रूपमा मात्र प्राप्त हुनेछ, टिक्नेछ र फैलिनेछ ।
६. पार्टीप्रतिको निष्ठा र प्रतिबद्धता
म टिकट वितरण हुँदैछ भन्ने हल्ला सुनेर पार्टीमा प्रवेश गरेको होइन । सामान्य राजनीतिक चेत आएसँगै निरन्तर यही पार्टीमा छु । अवसरको खोजीमा होइन, न्यायको खोजीमा पार्टीमा सामेल भएको हुँ । पूर्णकालीन कार्यकर्ता हुँदा नजन्मेका कमरेडहरू केन्द्रीय समितिमा पुग्दा पनि तलै ‘कार्यकर्ता’ भएर बसेका दर्जनौँ कमरेडहरूको धैर्यता मैले देखिरहेको छु । हिरासतमा कुटपिट हुँदा पनि लालसलाम सुनाइदिन आग्रह गर्ने ती क्षणहरू आज पनि स्मृतिमा ताजा छन् । प्रिय कमरेडहरू र आफन्त कमरेडहरूको बलिदानबाट खडा भएको पार्टीमा निजी स्वार्थका लागि निचता प्रदर्शन गर्नेछैन—यो मेरो वाचा हो ।
७. दाबी र सिद्धान्त
अरूले दाबी गर्दा समाजवादका लागि र मैले दाबी गर्दा अवसरवाद ठहरिनु हुँदैन । मैले भिख मागेको होइन, सगौरव दाबी गरेको हुँ । कमरेडद्वेष र मत्स्यन्यायको म विपक्षमा छु । जिल्लाबाट सिफारिस भएका कमरेडहरूबीच कम्तीमा एकपटक सामूहिक छलफल भएको भए जिल्ला इञ्चार्जको राजीनामा सार्वजनिक हुनुपर्ने अवस्था आउने थिएन ।
८. त्यागको तयारी
पार्टीले माग गरेमा म जुनसुकै त्याग गर्न तयार छु । चुनावी आन्दोलनमा जीवन नै दिनुपर्ने अवस्था नआओस् भन्ने चाहना छ । यदि केन्द्रीय समितिको पद त्याग गर्दा समाजवाद अझ नजिक पुग्छ भने त्यो त्याग गर्न पनि म तयार छु ।
९. पार्टी निर्णय र चुनावी अपिल
स्वस्थ र जीवन्त छलफलसहित पार्टी निर्णय कार्यान्वयनमा लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक अपिल गर्दछु । पार्टी केन्द्रले टिकट प्रदान गर्नुभएका कमरेड शक्ति बहादुर बस्नेतलाई चौथो पटक पनि विजयको शुभकामना व्यक्त गर्दछु । तारा चिन्हमा मतदान गर्न सबै कमरेड तथा जनसमुदायलाई हार्दिक अपिल गर्दछु ।
१०. एक संकल्प, एक प्रतिबद्धता
चुनावी घोषणापत्रमा एउटामात्रै संकल्प राख्न सुझाव दिन्छु—आउने पाँच वर्षमा भूकम्पबाट क्षतिग्रस्त सवा एक लाख मतदाताका सुरक्षित घर निर्माण गरिनेछ । सुरक्षित आवासमा बस्न पाउनु नागरिकको मौलिक हक हो र घर निर्माण गर्नु राज्यको दायित्व हो । प्रत्येक घरमा बाटो पुगेको होस्, बिजुली जोडिएको होस्, विद्यालय नजिक र गुणस्तरीय होस्, स्वास्थ्य बीमा सहितको अस्पताल उपलब्ध होस्, काम खोज्दै संसारभर भौतारिनु नपरोस् । प्रत्येक घरमा सामाजिक न्याय होस् । घर घरजस्तो बनोस् –घर मृत्युको धराप नबनोस् ।
क्याटेगोरी : बिचार, राजनीति

















प्रतिक्रिया