Techie IT
Samayabaddha
बुधबार, २० फागुन, २०८२

निजी क्षेत्रतर्फको कर्जा वृद्धि सुस्त, पुससम्म २ खर्ब हाराहारी


काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा अपेक्षाकृत सुस्त देखिएको छ। अर्थतन्त्रमा देखिएको मन्दीका कारण कर्जा माग नबढ्दा कर्जा प्रवाहमा उल्लेखनीय सुधार आउन नसकेको हो।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आव पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.६ प्रतिशत अर्थात् १ खर्ब ९७ अर्ब ४७ करोड रुपैयाँले बढेर ५६ खर्ब ९५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँले बढेको थियो।

वार्षिक बिन्दुगत आधारमा २०८२ पुस मसान्तमा निजी क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ।

पुस मसान्तसम्म प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.३ प्रतिशत हिस्सा रहेको छ। गत आवको सोही अवधिमा यी अंश क्रमशः ६४.२ प्रतिशत र ३५.८ प्रतिशत थिए।

यस अवधिमा वाणिज्य बैंकको कर्जा प्रवाह ३.७ प्रतिशत, विकास बैंकको २.९ प्रतिशत र वित्त कम्पनीको १.२ प्रतिशतले बढेको छ।

पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) धितोमा आधारित कर्जा १५ प्रतिशत रहेको छ भने घरजग्गा धितोमा आधारित कर्जा ६३.९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोको अंश क्रमशः १४.५ प्रतिशत र ६४.९ प्रतिशत थियो।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा क्षेत्रगत रूपमा उपभोग्य क्षेत्रमा ९.१ प्रतिशत, निर्माण क्षेत्रमा ७.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा ६.२ प्रतिशत, औद्योगिक उत्पादनमा ४.४ प्रतिशत, वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा १.१ प्रतिशत र सेवा उद्योग क्षेत्रमा ०.९ प्रतिशतले कर्जा वृद्धि भएको छ। भने कृषि क्षेत्रतर्फको कर्जा १.१ प्रतिशतले घटेको छ।

यसैगरी कर्जाका प्रकृतिका आधारमा मार्जिन कर्जा ८.३ प्रतिशत, ट्रस्ट रिसिट (आयात) ७.८ प्रतिशत, हायर पर्चेज ७.३ प्रतिशत, क्यास क्रेडिट ३ प्रतिशत, माग तथा अन्य चालु पूँजी २.९ प्रतिशत, रियल इस्टेट (व्यक्तिगत आवासीय घर कर्जासमेत) २.५ प्रतिशत र आवधिक कर्जा २.४ प्रतिशतले बढेको छ। तर अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा भने ३.३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट