३ वर्षमा विदेश भ्रमणमै साढे २ खर्ब खर्च, नेपालीको रोजाइमा यी हुन् ५ गन्तव्य
काठमाडौँ। पछिल्ला वर्षहरूमा नेपालीहरू विदेश भ्रमणतर्फ झन् आकर्षित हुँदै गएका छन्। बिदा मनाउने, परिवारसँग समय बिताउने र नयाँ ठाउँ अनुभव गर्ने चाहनाले विदेश जाने नेपालीको संख्या उल्लेख्य रूपमा बढेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा नेपालीहरूले विदेश भ्रमणमा २ खर्ब ४९ अर्ब १९ करोड ९ लाख रुपैयाँ खर्च गरेका छन्। चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउन–मंसिर) मै ८८ अर्ब ९७ करोड रुपैयाँ बाहिरिएको छ। यसअघि आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ८४ अर्ब ४९ करोड ७ लाख रुपैयाँ र २०८०/८१ मा ७५ अर्ब ७३ करोड २ लाख रुपैयाँ खर्च भएको थियो।
विशेषगरी पारिवारिक भ्रमणमा जाने नेपालीको संख्या बढ्दो क्रममा छ। दशैं–तिहारजस्ता चाडपर्वको विदामा विदेश भ्रमणका प्याकेज खरिद गर्नेहरू बढी हुन्छन्। नेपालीको विदेश मोह बढ्दै गएपछि ट्राभल व्यवसायीहरूले पनि विभिन्न देशका लागि आकर्षक र सस्तो प्याकेज सार्वजनिक गर्दै आएका छन्।
विदेश भ्रमणले नयाँ ठाउँ, संस्कृति र जीवनशैली बुझ्ने अवसर दिने भएकाले नेपालीहरू परिवार तथा साथीहरूसँग घुम्न जाने गरेका छन्। तथ्यांकअनुसार नेपालीहरू थाइल्याण्ड, दुबई, सिंगापुर, मलेसिया, हङकङ र भारत जस्ता देशहरू बढी रोज्ने गरेका छन्।
विशेषगरी सहज र सस्तो गन्तव्य भएकाले भारत नेपाली पर्यटकका लागि पहिलो रोजाइ बन्ने गरेको छ। गोवादेखि महाराष्ट्र, नैनीतालदेखि आग्रासम्म नेपाली पर्यटकको बाक्लो उपस्थिति देखिन्छ।
नेपालीको रोजाइमा परेका ५ प्रमुख मुलुक
थाइल्याण्ड
पर्यटनका लागि विश्वमै चर्चित थाइल्याण्डको राजधानी बैंकक नेपाली पर्यटकको प्रमुख गन्तव्य हो। दरबार, संग्रहालय, पार्क, विश्वकै ठूला चिडियाघर, साथै चतुचक वीकएन्ड मार्केट, याओवरात र नाइट मार्केटहरूले बैंककलाई थप आकर्षक बनाएका छन्।
दुबई
विलासी जीवनशैलीका लागि परिचित दुबई द्रुत गतिमा विकास भइरहेको सहर हो। बुर्ज खालिफा, डेजर्ट सफारी, सिटी टुर, क्रुज डिनर, आधुनिक सपिङ मल र विविध खानाका कारण दुबई नेपाली पर्यटकको रोजाइमा पर्छ।
सिंगापुर
व्यापार, पर्यटन र संस्कृतिको संगम मानिने सिंगापुर सफा सहर, आधुनिक पूर्वाधार र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छ। वुडल्यान्ड्स, जुरोङ इस्ट, पार्क, संग्रहालय र विज्ञान केन्द्र यहाँका मुख्य आकर्षण हुन्।
हङकङ
चीनको स्वशासित क्षेत्र हङकङ घुमफिर र किनमेलका लागि चर्चित छ। चिनियाँ संस्कृति, सिंह र ड्र्यागन नृत्य, आतिशबाजी र रंगीन रात्रि जीवनले पर्यटकलाई आकर्षित गर्छ।
मलेसिया
छोटो समयमै आर्थिक प्रगति गरेको मलेसिया नेपाली पर्यटकको अर्को लोकप्रिय गन्तव्य हो। समुन्द्री तट, नाइटलाइफ, पार्क, वन्यजन्तु आरक्ष र राजधानी क्वालालम्पुरका आधुनिक भवन, स्वादिष्ट परिकार र सपिङ मल यहाँका विशेषता हुन्।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया