सिन्धुली–२ मा महेश्वर दाहालप्रति बढ्दो जनसमर्थन, राजन दाहालकै पालिकामा खुला विद्रोह
सिन्धुली – फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सिन्धुली क्षेत्र नं–२ मा स्वतन्त्र उम्मेदवार महेश्वर दाहालप्रति जनमत तीव्र रूपमा बढ्दो छ। ‘मुढा’ चुनाव चिन्हमा उम्मेदवारी दिएका महेश्वर दाहालले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या सुन्ने र जनताको एकता निर्माण गर्ने कामलाई तीव्रता दिएका छन्।
उनका समर्थकहरू भ्रष्टाचार उन्मूलन, सुशासन, विकास, रोजगारी सिर्जना, नातावाद अन्त्य गर्न सक्षम, योग्य र इमान्दार नेताका रूपमा महेश्वर दाहाललाई अघि ल्याउन सक्रिय छन्। धुराबजारमा सम्पर्क कार्यालय खोलिसकिएको छ भने जिल्लाका अन्य ठाउँमा पनि कार्यालय स्थापना गरी सुझाव र गुनासा संकलनको काम युद्धस्तरमा भइरहेको छ।
यो अभियानको नेतृत्व नेकपा बागमती प्रदेश सचिवालय सदस्य केशव लोहनीले गरिरहेका छन्। समर्थक प्रेम वर्माले भने,
“समाज र राजनीतिमा बिग्रिनुमा खराब मान्छेको मात्र होइन, असल मान्छेको मौनताले पनि जिम्मेवार हुन्छ। हामी यही मौनता तोड्न विद्रोहमा उठेका हौं। यो सत्य र न्यायको पक्षमा भएको विद्रोह हो। परिवारवाद र विकृतिका विरुद्ध हाम्रो लडाई हो।”
स्थानीय नेता कल्याण बरालले भने, “यो संघर्ष पदको लागि होइन, भावी पुस्ताका लागि हो। आत्मस्वाभिमानका लागि मुढा चिन्हमा मतदान गरौं।”
सामाजिक सञ्जालमा पनि महेश्वर दाहालको समर्थन व्यापक हुँदै गएको छ। दुधराज पुलामीले लेख्छन् कि महेश्वर दाहाल र उनका समर्थकहरू पार्टी भित्रको केन्द्रित निर्णय र परिवारवादको विरुद्धमा खडा छन्। उनले थपे,
“सिन्धुलीमा नेतृत्वको सत्तासँग एकगठ हुन नसक्नेले निर्वाचन जित्ने भन्ने भ्रम फैलाउने प्रयास भइरहेको छ। महेश्वर दाहालको मुढा चिन्हले मात्र वास्तविक नेतृत्वको संरक्षण र भ्रष्टाचार उन्मूलन सुनिश्चित गर्न सक्छ।”
राजन दाहालको गृह गाउँपालिकामा विद्रोह
निर्वर्तमान संघीय सांसद राजन दाहालको गृह गाउँपालिका, जहाँ उनकी पत्नी दीपा बोहोरा दुईपटक प्रमुख चुनिएकी छन्, अहिले खुला विद्रोहको केन्द्र बनेको छ। यहाँका पार्टी सदस्य, लोकप्रिय नेता र प्रदेश सदस्यहरू खुलेर महेश्वर दाहाललाई समर्थन गरिरहेका छन्।
प्रदेश सदस्य दुधराज पुलामी, केशव लोहनी र सन्तोष दाहाल लगायत सक्रिय नेताहरूले विद्रोही समूहमा खुलेर आवद्धता जनाएका छन्। यसरी पार्टी भित्र व्यक्तिगत स्वार्थ र गुटगत राजनीति प्राथमिकतामा राखिएपछि मतदाताले स्वतन्त्र उम्मेदवार महेश्वर दाहालमा विश्वास देखाउँदै मुढा चिन्हमा मतदान गर्न तयार भएका छन्।
विश्लेषकहरूका अनुसार, निर्वाचित जनप्रतिनिधि भएका ठाउँमै नेतृत्वप्रति विश्वास घट्नु र असन्तोष देखिनु पार्टीका लागि चुनौतीपूर्ण हुनसक्छ। सिन्धुली–२ मा विकसित यो स्थिति आगामी निर्वाचन परिणामलाई निर्णायक बनाउन सक्नेछ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया