२० लाखभन्दा बढी ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताबाट लाभान्वित
काठमाडौं । सरकारले सञ्चालन गर्दै आएको सामाजिक सुरक्षा भत्ता कार्यक्रमबाट हाल २० लाख ९ हजार १६९ ज्येष्ठ नागरिक लाभान्वित भइरहेका छन्।
आइतबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव राधिका अर्यालले उक्त जानकारी दिएकी हुन्।
उनका अनुसार हाल ७० वर्षभन्दा माथिका १६ लाख ६० हजार ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका छन्। त्यसैगरी ६० वर्ष पूरा गरेका १ लाख ६१ हजार दलित ज्येष्ठ नागरिक, १ लाख ७१ हजार एकल महिला तथा तोकिएका क्षेत्रमा ६० वर्ष पूरा गरेका १७ हजार १६९ ज्येष्ठ नागरिक पनि सामाजिक सुरक्षाको दायरामा छन्।
सबै लाभग्राहीले मासिक ४ हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेको सचिव अर्यालले जानकारी दिइन्। यो तथ्यांक आर्थिक वर्ष २०८१/८२ को हो।
ज्येष्ठ नागरिकका लागि यातायात सेवामा समेत सहुलियत उपलब्ध गराइएको उनले बताइन्। उनका अनुसार सबै सार्वजनिक सवारी साधनमा कम्तीमा दुई सिट ज्येष्ठ नागरिकका लागि सुरक्षित गरिएको छ भने यात्रुवाहक भाडादरमा कम्तीमा ५० प्रतिशत छुटको व्यवस्था छ।
स्वास्थ्य सेवातर्फ सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिकका लागि बहिरंग तथा अन्तरंग सेवामा निश्चित सेवासहितको सैया वार्डको व्यवस्था गरिएको छ। उपचार शुल्कमा ५० प्रतिशत छुटको सुविधा हाल ७७ जिल्लाका ९४ वटा अस्पतालबाट उपलब्ध भइरहेको छ।
साथै, ७० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकका लागि १ लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बीमा सुविधा उपलब्ध गराइए पनि सेवा प्रवाहको प्रभावकारितामाथि प्रश्न उठिरहेको सचिव अर्यालले स्वीकार गरेकी छन्।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया