१६५ मध्ये ३१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि देशभर १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचन हुँदैछ । प्रत्येक निर्वाचन क्षेत्रबाट एक/एक जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ भने थप ११० सिट समानुपातिक प्रणालीमार्फत भरिनेछन् ।
प्रत्यक्षतर्फ राजनीतिक दल र स्वतन्त्र गरी कुल तीन हजार ४०६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये तीन हजार १७ जना पुरुष, ३८८ जना महिला र अन्य समूहका एक जना उम्मेदवार रहेका छन् । यस आधारमा महिला उम्मेदवारको हिस्सा ११.३९ प्रतिशत मात्र देखिन्छ ।
१६५ निर्वाचन क्षेत्रमध्ये ३१ वटा क्षेत्रमा महिला उम्मेदवार नै नपरेको तथ्यांकले देखाएको छ । ती क्षेत्रहरूमा सबै उम्मेदवार पुरुष छन् ।
कोशी प्रदेशमा ९ क्षेत्र महिला उम्मेदवारविहीन
कोशी प्रदेशका ९ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य छन् । ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ–२, मोरङ–३, खोटाङ, उदयपुर–१ र उदयपुर–२ मा महिला उम्मेदवार छैनन् ।
ताप्लेजुङ, पाँचथर र भोजपुरमा एक–एक निर्वाचन क्षेत्र छन् । यी तीनै जिल्लामा रहेका सबै उम्मेदवार दलीय र पुरुष हुन् । धनकुटामा पनि १७ जना उम्मेदवारमध्ये सबै पुरुष छन् ।
मोरङका ६ निर्वाचन क्षेत्रमध्ये २ र ३ नम्बर क्षेत्रमा मात्र पुरुष उम्मेदवार छन् । खोटाङ र उदयपुरका दुवै निर्वाचन क्षेत्रमा पनि महिला उम्मेदवार छैनन् । समग्रमा कोशी प्रदेशमा ४३६ जना पुरुष र ५८ जना महिला उम्मेदवार छन् ।
मधेशमा एक, बागमती र गण्डकीमा तीन–तीन
मधेश प्रदेशमा रौतहट–२ मा महिला उम्मेदवार छैनन् । यहाँ २६ जना उम्मेदवार रहेका छन् र सबै पुरुष हुन् । प्रदेशभर भने १०९ महिला र ९१८ पुरुष उम्मेदवार छन् ।
बागमती प्रदेशका काभ्रे–१, सिन्धुली–१ र नुवाकोट–२ मा महिला उम्मेदवार शून्य छन् । यी सबै क्षेत्रमा दलीय उम्मेदवारको बाहुल्य देखिन्छ । बागमतीमा कुल १०८ महिला र ६२३ पुरुष उम्मेदवार छन् ।
गण्डकी प्रदेशमा स्याङ्जा–१, स्याङ्जा–२ र म्याग्दीमा महिला उम्मेदवार छैनन् । प्रदेशभर ३१ महिला र २०३ पुरुष उम्मेदवार रहेका छन् ।
लुम्बिनी र कर्णालीमा चार–चार, सुदूरपश्चिममा सात
लुम्बिनी प्रदेशका कपिलवस्तु–३, रोल्पा, दाङ–१ र बाँके–२ मा महिला उम्मेदवार शून्य छन् । यहाँ कुल ५८२ उम्मेदवारमध्ये ५३ महिला र ५२९ पुरुष छन् ।
कर्णाली प्रदेशका मुगु, कालीकोट, जाजरकोट र सुर्खेत–१ मा पनि महिला उम्मेदवार छैनन् । प्रदेशभर ११ महिला र १२० पुरुष उम्मेदवार छन् ।
सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम–१, अछाम–२, बझाङ, दार्चुला, बैतडी र डडेलधुरामा महिला उम्मेदवार शून्य छन् । यहाँ १८ महिला र १८८ पुरुष उम्मेदवार प्रतिस्पर्धामा छन् ।
दलहरूको प्राथमिकतामा महिला पछि
तथ्यांकले राजनीतिक दलहरूको उम्मेदवार चयन प्रक्रियामा महिलालाई प्राथमिकतामा नराखिएको देखाउँछ । ३८८ महिला उम्मेदवारमध्ये १५७ जना स्वतन्त्र छन् भने २३१ जना मात्रै दलीय उम्मेदवार हुन् ।
ठूला दलहरूबाट महिला उम्मेदवारको संख्या न्यून छ । नेपाली कांग्रेसबाट ११, नेकपा एमालेबाट १०, नेकपा (माओवादी केन्द्र)बाट १२, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १६ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ८ जना महिला उम्मेदवार छन् ।
यसैगरी जनता समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, मंगोल नेसनल अर्गनाइजेसनलगायत साना दलहरूले तुलनात्मक रूपमा बढी महिलालाई उम्मेदवार बनाएका छन् ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया