महाशिवरात्रिका लागि गुठी संस्थानले छुट्ट्यायो ४० लाख बजेट, तयारी पूरा
काठमाडौं । गुठी संस्थानले महाशिवरात्री पर्वको तयारी पूरा गरेको छ । फागुन १ गतेदेखि ५ गतेसम्म महाशिवरात्री पर्व सञ्चालन गर्नको लागि तयारी पूरा गरेको हो ।
यसवर्ष महाशिवरात्री फागुन ३ गते मनाइँदैछ । महाशिवरात्री पर्व मनाउनको लागि संस्थानले पर्व अगाडी र पछाडी गर्नुपर्ने कार्यहरुको तयारी पूरा गरेको जनाइएको छ ।
महाशिवारात्रीको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्र तथा काठमाडौंका विभिन्न अखडाहरूमा साधुसन्तको सेवा, पूजा तथा व्यवस्थापनका लागि संस्थानले आवश्यक तयारी पूरा गरेको छ ।
महाशिवरात्री पर्व अवधिभर पशुपति क्षेत्रका मठ–मन्दिर तथा अखडाहरूमा उपस्थित साधुसन्तका लागि दाउरा, भोजन, पूजा सामग्री र दक्षिणाको व्यवस्था गर्ने गरेको छ ।
फागुन १ गते संस्थानको शाखा कार्यालय पशुपतिका कर्मचारीहरूले राष्ट्रपतिबाट पशुपतिनाथ मन्दिरमा अर्पण गरिने तथा साधुसन्तलाई प्रदान गरिने सामग्रीहरूलाई परम्परागत विधिअनुसार सङ्कल्प गर्नको लागि राष्ट्रपति कार्यलयमा जाने तयारी छ ।
संकल्प सामग्रीमा राढी, च्यादर, बख्खु, कमण्डलु, रुद्राक्ष माला, धान, दाल, घिउ, फलफूललगायत २१ प्रकारका सामग्री समावेश छन् । सोही दिन पशुपति मन्दिर परिसरमा साधुसन्तका लागि भोजन र दाउराको व्यवस्था गरिनेछ ।
फागुन २ गते अन्नपूर्ण आश्रममार्फत मन्दिर परिसरका साधुसन्तलाई भोजनको व्यवस्था गरिनेछ भने राम मन्दिर, भष्मेश्वर, निर्मल, मृगस्थली गोरखनाथ, वनकाली तथा थापाथली क्षेत्रका अखडाहरूमा दाउरा र भोजनको प्रवन्ध मिलाइनेछ । मुख्य दिन फागुन ३ गते शाखा कार्यालय पशुपतिबाट पञ्चामृतसहित पूजा सामग्री पशुपतिनाथ मन्दिरमा अर्पण गरिने गरेको छ ।
सोही दिन साँझ मन्दिर परिसरमा बत्ती बालिनेछ । यसदिन साधुसन्तलाई दही, फलफूल तथा धुनी बाल्न दाउरा वितरण गरिने, फागुन ४ गते पनि मन्दिर परिसर र अखडाहरूमा साधुसन्तका लागि भोजन र दाउराको व्यवस्था निरन्तर रहनेछ भने फागुन ५ गते बिहान साधुसन्तलाई भोजन गराइएपछि दक्षताअनुसार विभिन्न रङ्काका कार्ड वितरण गरिनेछ । सोही कार्डका आधारमा तोकिएको दरअनुसार दक्षिणा प्रदान गरी साधुसन्तलाई बिदाइ गरिने गरेको छ ।
गुठी संस्थानले यस वर्ष महाशिवरात्री पर्वका लागि दाउरा खरिदमा ८ लाख रुपैयाँ र पर्व सञ्चालनका लागि ३२ लाख रुपैयाँ गरी ४० लाख रुपैयाँ छुट्याएको छ ।
क्याटेगोरी :
समाचार

















प्रतिक्रिया