क्षतिपूर्ति र कडा अनुगमनको सहमतिपछि रामेछापमा यातायात सेवा पुनः सञ्चालन
काभ्रेपलाञ्चोक । रामेछापमा मंगलबार भएको यात्रुवाहक बस दुर्घटनापछि अवरुद्ध यातायात सेवा क्षतिपूर्ति र प्रभावकारी अनुगमनसम्बन्धी सहमतिपछि पुनः सञ्चालनमा आएको छ। स्थानीय प्रशासन, अरनिको यातायात सेवा प्रा.लि. र पीडित परिवारबीच बुधबार अबेरसम्म चलेको वार्ताबाट यस्तो सहमति भएको हो।
सहमति अनुसार दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रचलित कानुनबमोजिम पाउनुपर्ने क्षतिपूर्ति तत्काल उपलब्ध गराइनेछ। बेपत्ता यात्रुहरूलाई पनि मृतक सरह मानी क्षतिपूर्ति दिने व्यवस्था मिलाइने उल्लेख गरिएको छ। थप क्षतिपूर्तिका विषयमा जिल्ला सुरक्षा समितिको सहजीकरणमा पीडित पक्ष र सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिसहित पुनः वार्ता गर्ने सहमति भएको छ।
दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको शव परीक्षणपछि आफन्तको सहमति र सहजीकरणमा हस्तान्तरण गरिनेछ। साथै, दुर्घटनाका सवारी चालकविरुद्ध प्रचलित कानुनबमोजिम कडा कारबाही अघि बढाइने र हराइरहेका यात्रुको खोजी कार्य जारी राखिने बताइएको छ।
यातायात सेवा सञ्चालनमा सुधार ल्याउन सवारी साधनको कडा अनुगमन गर्ने, सीमा नाका तथा चेकपोइन्टमा अनिवार्य जाँच गर्ने, यात्रु संख्या र सवारी प्रवेश समयको अभिलेख राख्ने व्यवस्था लागू गरिनेछ। चालकले मदिरा वा नसालु पदार्थ सेवन गरेको भए/नभएको नियमित परीक्षण गरिनेछ। यात्रुको ज्यान जोखिममा पार्ने गरी सवारी चलाएको पाइएमा सवारी दर्ता खारेजका लागि सिफारिस गरिने सहमति भएको छ। सडक अवस्थाको सुधारका लागि सम्बन्धित निकायलाई निर्देशन दिने पनि निर्णय गरिएको छ।
यसैबीच, मन्थली नगरपालिका–६ त्रिवेणी पुल नजिक भएको उक्त दुर्घटनामा तीन जना अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मन्थली–२ पिप्ले निवासी ९ वर्षीय क्रिचन तामाङ, लिखु तामाकोशी–७ तिल्पुङका ८ वर्षीय रोनिश तामाङ र उमाकुण्ड–६ गुप्तेश्वरका २४ वर्षीय विशाल सुनुवार सम्पर्कविहीन छन्।
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बा प्र ००१–०५ख ९९७५ नम्बरको अरनिको यातायात सेवा प्रा.लि.को बस सडकबाट करिब १०० मिटर तल तामाकोशी नदीमा खस्दा १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया