७७ जिल्लामा ७०० पर्यवेक्षक परिचालन, प्रतिनिधिसभा निर्वाचनको निगरानी कडा
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न निर्वाचन पर्यवेक्षण समिति नेपालले देशभर ७७ वटै जिल्लामा ७०० पर्यवेक्षक परिचालन गरेको छ।
समितिले माघ २४ र २५ गते दुई दिने विशेष प्रशिक्षण प्रदान गरी दक्ष पर्यवेक्षकहरूलाई कार्यक्षेत्रमा खटाएको हो। यस क्रममा स्वयंसेवक, अल्पकालीन, दीर्घकालीन र विशिष्ट विज्ञ पर्यवेक्षकहरूले क्रमिक रूपमा निर्वाचन अवलोकन गर्नेछन्। हाल ४० जना दीर्घकालीन पर्यवेक्षकले निर्वाचन प्रक्रिया नजिकबाट नियालिरहेका छन्।
उनीहरूले निर्वाचन आयोग, सरकार, राजनीतिक दल, सुरक्षा निकाय, उम्मेदवार र सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूको आचारसंहिता पालनाको निगरानी गर्दैछन्। साथै, निर्वाचन प्रचार प्रसारको खर्च र स्रोत, सञ्चारकर्मी, सामाजिक संघसंस्था र मतदाताको भूमिकाको गहिरो अनुगमन पनि भइरहेको छ।
समितिको उद्देश्य निर्वाचन पारदर्शी, निष्पक्ष र कानूनी नियमअनुसार सम्पन्न हुन सुनिश्चित गर्नु हो।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया