Techie IT
Samayabaddha
आईतबार, ३ फागुन, २०८२

निर्वाचन आयोगद्वारा देशव्यापी डिजिटल मतदाता शिक्षा अभियान सुरु, वडा–वडामा स्वयंसेवक परिचालन


काठमाडौं । काठमाडौंमा रहेको निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै देशव्यापी डिजिटल मतदाता शिक्षा अभियान सुरु गरेको छ। फागुन ३ गतेदेखि सुरु भएको यो अभियान फागुन १७ गतेसम्म सञ्चालन हुनेछ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार विगतका निर्वाचनमा देखिएका कमजोरी सुधार गर्दै यसपटक आयोगले आफ्नै नेतृत्वमा कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको हो। अघिल्ला निर्वाचनहरूमा स्थानीय तहका कर्मचारीलाई स्वयंसेवकको रूपमा परिचालन गरिँदै आएको भए पनि यसपटक प्रत्येक वडामा आयोगले आफ्नै एक–एक जना स्वयंसेवक नियुक्त गरेको छ।

स्थानीय तहबाट सञ्चालित कार्यक्रममा अपनत्वको कमी देखिएकाले आयोगले स्वयंसेवक स्वयं छनोट गरी तालिम दिएर खटाएको जनाएको छ। ती स्वयंसेवकहरूले स्थानीय भाषा र परिवेशअनुसार मतदातालाई सही तरिकाले मतदान गर्ने विधि सिकाउनेछन्।

यस अभियानको मुख्य विशेषता ‘डिजिटल मतदाता शिक्षा’ रहेको छ। कागजको प्रयोग घटाउने उद्देश्यले पोस्टर र पम्प्लेटको सट्टा सामाजिक सञ्जाललाई प्राथमिकता दिइएको छ। आयोगको आधिकारिक फेसबुक पेज ‘इलेक्सन कमिसन नेपाल’ मा उपलब्ध भिडियो, एनिमेसन र ब्रोसरहरू देखाएर मतदाता शिक्षा दिइनेछ।

स्वयंसेवकहरूले घरदैलोमा पुगेर नमूना मतपत्र र स्वस्तिक छापको प्रयोगमार्फत मत बदर हुन नदिने तरिका सिकाउनेछन्। अभियानको प्रभावकारिता अनुगमन गर्न प्रविधिको प्रयोग गरिएको छ। प्रत्येक स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिलाई अनुगमनको जिम्मेवारी दिइएको छ भने केन्द्रबाट ह्वाट्सएप समूहमार्फत दैनिक रिपोर्टिङ र अनुगमन भइरहेको आयोगले जनाएको छ।

आयोगले मतदातालाई आफ्नो आधिकारिक पेज फलो गरी डिजिटल माध्यमबाटै निर्वाचनसम्बन्धी जानकारी लिन आग्रह पनि गरेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट