Techie IT
Samayabaddha
सोमबार, ४ फागुन, २०८२

 छ लाख बढीले गरे पशुपतिनाथको दर्शन


काठमाडौं । महाशिवरात्रीका दिन आज राति ९ बजेसम्म कम्तीमा छ लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् ।
आज बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेकामा अहिलेसम्म पनि उस्तै रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुवास जोशीले राससलाई जानकारी दिए । उनले भने, “९ बजेसम्म कम्तीमा छ लाख बढीले दर्शन गरेका छन् । अहिले पनि दर्शनार्थीको भीड बाक्लो छ । दर्शनार्थीको सङ्ख्या अझै बढ्ने देखिन्छ ।”
यस वर्ष कम्तीमा आठ लाख भक्तजनले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधिलाई सिसी क्यामरा तथा ड्रोनका माध्यमबाट निगरानी गरिएको छ । अवाञ्छित गतिविधि निगरानीका लागि सुरक्षाकर्मीसहितको छुट्टै टोली परिचालन गरिएको विकास कोषका प्रवक्ता जोशीले बताए ।
पशुपति क्षेत्रमा आपत्कालीन उद्धार टोली, दमकल र एम्बुलेन्ससमेत तयारी राखिएको छ । भक्तजनको सहजताका लागि एकैपटकमा नौदेखि दश जनासम्मले दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ । शिवरात्रिका लागि छिमेकी मुलुक भारतबाट साधुसन्त र तीर्थयात्री पशुपति आएका छन् ।
पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन भएका छन् ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । आज भगवान् शिवको प्रियवस्तु मानिने दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन छ ।
यस वर्ष पशुपतिनामा तीन हजारभन्दा बढी साधुसन्त आएको विकास कोषको अनुमान छ । महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी मूल शिविर रहेको छभने सशस्त्र प्रहरी बलको नेपाल सुरक्षा कमान्ड पोष्ट पशुपतिक्षेत्र नासल चोकमा छ ।

क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट