नेकपा संयुक्तको घोषणापत्र सार्वजनिक, विदेशी सहयोगको भर पर्दैनौँ (पूर्णपाठ)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
कृृषिमा संरक्षणको नीतिले ५ वर्षमा हामी कृषि उत्पादनमा आत्म निर्भर हुनसक्ने उल्लेख गर्दै उक्त कुराको जिम्मेवार राज्य बन्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।
‘हाम्रा पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, प्रशासन, कानून, राजनीतिलगायत सबै क्षेत्रलाई १० वर्षमा नेपाललाई उद्यमी राष्ट्र बनाउने ध्येयका साथ निर्देशित गर्नु पर्छ, आवश्यकताअनुसार पुनर्गठन गर्नु पर्छ,’ घोषणापत्रमा भनिएको छ ।
५ वर्षभित्रै आपतकालीन सेवा, विषपान, सडक दुर्घटनाको व्यवस्थापन गर्न सकिने जनशक्ति र आपूर्ति भएको आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमा नै व्यवस्था गर्नुपर्ने पनि घोषणापत्रमा उल्लेख छ ।
‘आगामी १० वर्षमा ३० लाख पर्यटक भित्याउने र १० लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने योजना निर्माण गर्नु पर्छ, र यो सम्भव छ,’ घोषणापत्रमा भनिएको छ ।
घोषणापत्रमा भनिएको छ, ‘अब सित्तैमा कसैले दिँदैन र कसैले दियो भने पनि बिनाशर्त दिँदैन । हाम्रो राजनीति, राजनीतिक पार्टी र नेताहरूले यो तथ्यलाई हृदयङ्गम गर्न नसक्नु हाम्रो समृद्धिको असाध्यै ठुलो तगारो हो । अब हामीले भन्न सक्नु पर्छ( ‘हाम्रा आवश्यकता र शर्तमा बाहेक विदेशी सहयोग लिँदैनौँ’ ।’
राजनीतिक कार्यकर्ताको ठुलो सङ्ख्या, कर्मचारी, व्यवसायी भ्रष्टाचारमा संलग्न रहेको भन्दै घुस नखानेको पार्टी बनाउने जनाइएको छ ।
भनिएको छ, ‘हामीमाथि भ्रष्टाचारको आरोप नलाग्ने गरी अन्तर्राष्ट्रिय मञ्चमा उभिन सक्ने नेतृत्वबिना हामीले अरूमाथि प्रश्न गर्न सक्दैनौँ । त्यसैले उद्यमी राष्ट्र निर्माणको पहिलो सर्त भ्रष्टाचार मुक्त राजनीति हो । त्यसैले भ्रष्टाचार विरुद्धको लडाइँलाई राष्ट्रिय लडाइँ बनाउनु पर्छ । त्यसैलाई हामीले चलनचल्तीको भाषामा र साङ्केतिकरुपमा ‘घुस नखाने राजनीति, घुस नखाने पार्टी’ भनेका हौँ ।’
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया