Techie IT
Samayabaddha
मंगलबार, ५ फागुन, २०८२

काठमाडौँ–६ः मतदाता भन्छन्, ‘गरिखाने वातावरण देऊ’


काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति जतिजति नजिक हुँदै छ चुनावी सरगर्मी त्यसैगरी बढिरहेको छ । निर्वाचन आयोगले हिजो फागुन ४ गतेदेखि निर्वाचन प्रचारप्रसार गर्ने बाटो खुला गरिदिएपछि भने चुनावी गर्मीले देश हपक्कै तातेको छ ।

अहिले राजनीतिक दलका नेता मतदाताको घरदैलोमा व्यस्त छन् । मतदाताहरुलाई उम्मेदवारहरुको नमस्कार फर्काएर भ्याइनभ्याइ छ । मतदाताहरु यो नेताहरुको नमस्कार चुनावका बेलामा मात्रै भएको र अरू बेला वास्ता नगर्ने गरेको दुःखेसो पनि पोखिरहेका छन् ।

यस्तै अभियान काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा पनि जारी छ । यस क्षेत्रमा पनि उम्मेदवारबीच रोचक उपस्थिति रहेको छ । मतदाताहरु उम्मेदवारका गतिवधि नियालिरहेका छन् । कतिपय मतदाताले विगतमा गरेका काम र अब गर्नुपर्ने कामबारे प्रश्न सोधिरहेका छन् । कोही उम्मेदवारका कुरामा मुन्टो हल्लाउँदै मौन समर्थन गर्छन् भने कतिपयले प्रतिप्रश्न पनि गरिरहेका दृश्यहरु देखिएका छन् ।

यहाँ अहिले मतदाताका उत्तर दिँदै उम्मेदवारहरु आ–आफ्नो घोषणापत्रका आधारमा मत मागिरहेका दृश्य देख्न सकिन्छ । तारकेश्वरका मतदाता विष्णु लामिछाने स्वास्थ्य, शिक्षा, रोजगार सुनिश्चित गर्दै नागरिकले सहज रुपमा सरकारी सेवा पाउने वातावारण गराउनुपर्ने अहिलेको टड्कारो आवश्यकता हो भन्छन् । यसतर्फ उम्मेदवारले ध्यान दिनुपर्ने बताउँदै लामिछानेले भने, “अहिलेसम्म उम्मेदवारसँग मेरो भेट भएको त छैन, भेटेपछि म स्वास्थ्य, शिक्षा, रोजगारबारे तपाईंको प्रतिबद्धता के हो, सरकारी सेवा सहज पाउने बारेमा के सोच्नुभएको छ ? गाउँका खानेपानी, भरपर्दा र सुरक्षित सडक निर्माणदेखि, ढल निकासका समस्या कसरी समाधान गर्नुहुन्छ, यही प्रश्न सोध्छु, जसले चित्तबुझ्दो जवाफ दिन्छन्, उसैलाई भोट हुन्छ ।”

काठमाडौँ क्षेत्र नम्बर ६ फरकफरक तीन खालको भौगोलिक स्थितिमा विभाजित क्षेत्र हो । एउटा मुख्य सहर भएको क्षेत्र छ, जुन काठमाडौँ महानरगभित्र पर्छ । लैनचौर, बागबजारलगायत ठाउँ पनि यही क्षेत्रमा छ । अर्को बीच क्षेत्र छ महानगरभन्दा अलि पर र काँठभन्दा अलि तल टोखा र तारकेश्वर नगरपालिकाका केही वडाहरु पर्दछ । धेरै जिल्लाबाट बसाइँ सरेर आएर शहर बनेको ठाउँ यसभित्र पर्छ । अर्को काँठ क्षेत्र जस्तै साङ्ला, झोर यहाँ रहेको छ । तीन भूगोलका फरकफरक मनोविज्ञान रहेका छन् र समस्या पनि फरकफरक रहेका छन् ।

यी क्षेत्रलाई उम्मेदवारले जितेर गएपछि कसरी सम्बोधन गर्छन् भन्ने कुरा महत्वपूर्ण हुने स्थानीयहरु बताउँछन् । “हामीलाई अरू केही चाहिएको होइन । हामीले राम्रोसँग काम गरेर खाने वातावरण दिनुप¥यो”, टोखाकी राममाया शर्मा प्रश्न गर्दै भन्छन्, “चुनावमा खुट्टै ढोगौँला जसरी नमस्कार गर्दैै यो गर्छु र त्यो गर्छु भन्दै आइपुग्छन्, तर पछि वास्तै गर्दैनन्, सबै नेता उस्तै हुन् । बोलेको पूरा गर्नुप¥यो नि नेता भएपछि त ?

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार दोहो¥याउँदा नेपाली कांग्रेस र नेकपा (एमाले)ले उम्मेद्वार फेरेका छन् । यता नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार बनेर तेस्रो स्थानमा चित्त बुझाएका नेता हिमाल (हिमलाल) शर्मालाई उम्मेदवार बनाएको छ । यहाँ पनि प्रमुख दलका उम्मेदवार नै मुख्य प्रतिष्पर्धी देखिएका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ६ मा कुल उम्मेदवार २० जना रहेका छन्, जसमा पाँच जना स्वतन्त्र रुपमा उठेका छन् । यहाँ नेकपा (एमाले)बाट अमनकुमार मास्के, नेपाली कांग्रेसबाट कृष्ण (सबुज) बानियाँ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट हेमलाल शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल उम्मेदवार रहेका छन् । उनीहरु चार जनाबीच नै यहाँ मुख्य प्रतिस्पर्धा हुने बताइन्छ ।

यस्तै, राप्रपाबाट उद्धवराज भेटवाल, उज्यालो नेपाल पार्टीबाट वारिस धरेल, नेपाल मजदुर किसान पार्टीबाट इन्द्रकुमारी बज्राचार्य र राष्ट्रिय जनमोर्चाबाट जगतप्रसाद रेग्मीलगायतको उम्मेदवारी रहेको छ ।

काठमाडौँ ६ का एमालेका उम्मेदवार अमनकुमार मास्के बागमती प्रदेशसभा सदस्यबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका छन् । उनीसँग प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री भएको अनुभव छ । बानियाँ नेपाली कांग्रेस काठमाडौँका सभापति हुन् । उनले हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको अध्यक्षता समेत गरेका थिए । यस्तै, हिमाल शर्मा तत्कालीन माओवादीको विद्यार्थी राजनीतिबाट आएका हुन् । रास्वपाका शिशिर खनाल भने गत २०७९ को निर्वाचनमा विजयी भएर यसपालि पनि दोहो¥याउँदै छन् । उनी नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा छोटो समय शिक्षा तथा विज्ञान प्रविधिमन्त्री पनि बनेका थिए ।

मनमैंजुका कृष्ण श्रेष्ठ पसल चलाएर बस्छन् । उनलाई अहिलेसम्मका जनप्रतिनिधिले गरेका कामबाट सन्तुष्ट छैनन् । श्रेष्ठ भन्छन्, “अझै यस क्षेत्रमा विकास गर्न पुगेको छैन, राम्रो गर्नुप¥यो, नागरिकको जीवन सहजरुपमा चल्ने वातावरण र काम गरेर खानेहरुलाई सहज हुने अवस्था सिर्जना गर्नुपर्छ । यसतर्फ उम्मेदवारको ध्यान जानुपर्छ ।” स्वास्थ्य शिक्षा, रोजगार, विकास बाटोघाटो, सडकसँगै युवा पलायन रोक्ने, रोजगारी सिर्जना गर्ने र उद्योग कलकारखाना खोज्ने, कृषिमा व्यवसायिक वातावरण तयार गर्न र शान्ति सुरक्षामा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

काठमाडौँ क्षेत्र नम्बर ६ मा ३२ मतदान स्थलमा ७९ वटा मतदान केन्द्र रहेको छ । यो क्षेत्रमा ६७ हजार ७५९ मतदाता रहेकामा ५१।५९ प्रतिशत अर्थात ३४ हजार ९५६ महिला मतदाता रहेका छन् । पुरुष मतदाता ३२ हजार ८०२ अर्थात ४८।४१ प्रतिशत र अन्य मतदाता एक रहेको छ । विसं २०७९ मा यहाँ ६२ हजार १०२ मतदाता थिए ।

काठमाडौँ ६ संसदीय क्षेत्रमा काठमाडौँ महानगरपालिकाको २६, २७ र २८ नम्बर वडा, टोखा नगरपालिकाको १, ८, ९, १० र ११ र तारकेश्वर नगरपालिकाका वडा १, २, ६, ७, ८, ९, १० र ११ रहेका छन् । काठमाडौँको मुख्य शहरी क्षेत्रदेखि काँठसम्मै यो क्षेत्रले भेटेको छ । यो क्षेत्रमा काठमाडौँ महानगरको सामाखुसी, लैनचौर, बागबजार, महाबौद्ध, दरबार हाईस्कुल, ज्याठा, कमलादी, पुरानो बसपार्क, भृकुटीमण्डवको प्रदर्शनीमार्ग, गोल्कुपाखा, हुँदै टोखा र तारकेश्वर नगरपालिकाका धेरै ठाउँलाई ओगटेको छ ।

तारकेश्वरको साङ्ला, काभ्रेस्थली, धर्मस्थली, फुटुङ, डाँडाचौर, मनमैंजु, नेपालटार, ऐश्वर्य नगर, टोखाको गोङ्गबु, गैरीगाउँ, मनोहरा र झोरसम्मै काठमाडौँ क्षेत्र नम्बर ६ ले ओगटेको छ । विविधतायुक्त बस्ती र समस्या भएको क्षेत्र पनि रहेको छ काठमाडौँको क्षेत्र नम्बर ६ । यो क्षेत्रको काँठमा छुट्टै समस्या रहेको छ भने मुख्य कोर एसियामा छुट्टै समस्या रहेको मतदाता बताउँछन् ।

के भन्छन् उम्मेदवार ?

उम्मेदवारहरुले विभिन्न कार्यक्रम तथा मतदाताको घरदैलोमा जाँदा आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्दै मत मागिरहेका छन् । उनीहरुले आफ्नो विकास र समृद्धिका योजना पनि मतदातालाई सुनाइरहेका छन् । रास्वपाका उम्मेदवार खनाल आगामी १० वर्षमा सम्मानजनक मध्यम आय भएको मुलुक बनाउन नेपालको कानुन तथा नीतिगत सुधार गर्नुपर्ने र व्यवसाय गर्नका लागि सुरक्षित नेपाल बनाउनुपर्ने बताउँदै रोजगारी सिर्जना गर्नतर्फ आफू अग्रसर रहेको उल्लेख गर्छन् ।

उनी भन्छन्, “यसपालि देशको रुपान्तरण चाहेका छौँ, समृद्धि र सुशासनको चाहनाका लागि नै हामीलाई ठूलो बहुमत चाहिने रहेछ । अघिल्लो पटकजस्तै विभिन्न दलसँग मिलेर सरकार बनाउनु परेमा कुनै काम गर्न नसकिने सिकाइ रह्यो । त्यही बुझाउँदै हिँडेका छौँ सुशासन र समृद्धिमा ठोस काम गर्न सकेनौँ भने अर्को पटक मत दिनै पर्दैन भनेर जनतामाझ गइरहेका छौँ ।”

नेकपाका उम्मेदवार शर्मा पुस्तान्तरणको नयाँ बहस सुरु भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीलाई संविधानमा ग्यारेन्टी गराइएको तर कार्यान्वयन नभएकाले त्यसलाई व्यवहारमै लागू गरेर देखाउन जरुरी रहेको बताउँछन् । “मुलुकको शासकीय स्वरुप परिवर्तन गरी सुशासन कायम गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जना गरी देशलाई आर्थिक समृद्धि बनाउन भूमिका खेल्ने छु । संविधानमा उल्लेख भएको शिक्षा स्वास्थ्य र रोजगार जस्ता मौलिक अधिकारलाई जनताको पक्षमा लागू गराउन आवश्यक कानुन निर्माण गर्न लाग्ने छु”, शर्माले भने ।

एमालेका उम्मेदवार मास्केले भने यहाँका नागरिकको दुखसुखको साथी नै आफू बन्न चाहेको बताएका छन् । उनले महिलालगायत हरेक समुदायलाई सक्षम र आर्थिक सवल बनाउनुपर्ने तथा यो माटोमा केही गर्नुपर्छ भन्ने चेत आफूसँग रहेको र प्रदेशसभामा रहँदा पनि विकासका धेरै काम धेरै गरेको सुनाए ।

उनी भन्छन्, “राजनीति विशुद्ध सेवा हो, त्यो विश्वास छ र म नागरिकको सेवामा समर्पित हुन्छु ।” कर तिर्न मापलोत नापीमा जाँदा वा कुनै निकायमा सेवा लिन जाँदा जनताले सहज सेवा प्राप्त गर्नका लागि प्रणालीको विकास गर्न जरुरी रहेको बताए।

नेपाली कांग्रेसका उम्मेदवार बानियाले मतदाताको दैलोदैलोमा गएर मतदातालाई बुझाउँदै जेनजी र नागरिकले खोजेको परिवर्तनको सम्वाहक बनेर उभिने बताएका छन् । उनले नागरिकका आवाज पूरा गर्न लाग्ने प्रतिबद्धता पनि जनाएका छन् । उनले भने, ”दीर्घकालीन विकास र बदलिँदो अवस्थामा सबै चुनौती सामाना गर्नुपर्ने परिस्थितिका लागि निर्वाचन भएको हो र त्यसका लागि कांग्रेसले जित्नु पर्नेछ ।” उज्यालो नेपालका धरेल आफूले विदेशमा सिकेर आएको ज्ञान र सीपको उपयोग गरी युवा पुस्तालाई उद्यमशीलतातर्फ डो¥याउनु नै आफ्नो लक्ष्य रहेको बताउँछन् ।

गत २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट रास्वपाका शिशिर खनाल १४ हजार २२१ मत अर्थात ३८.०१ प्रतिशत मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिष्पर्धी एमालेका सर्वेन्द्र खनालले नौ हजार ९१७ मत ल्याएका थिए । जुन कुल मतको २३. ८४ प्रतिशत हो ।

अघिल्लो दुई निर्वाचनमा लगातार जितेका नेपाली कांग्रेसका भीमसेनदास प्रधानले विजय प्राप्त गरेका थिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट