Techie IT
Samayabaddha
बिहीबार, ७ फागुन, २०८२

गैरआवासीय नेपाली नागरिकता वितरण बढ्दो, तीन महिनामा ५६६ जना लाभान्वित


काठमाडौं । पछिल्ला तीन महिनामा ५६६ जनाले गैरआवासीय नेपाली (एनआरएन) नागरिकता लिएका छन्। गृह मन्त्रालयका अनुसार कात्तिक १ गतेदेखि पुस मसान्तसम्म उक्त संख्यामा गैरआवासीय नेपाली नागरिकता जारी गरिएको हो।

सोही अवधिमा कुल दुई लाख दुई हजार ९५६ वटा नागरिकता जारी भएका छन्। जसमध्ये एक लाख १९ हजार १२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन्। त्यस्तै २६ जनाले अंगीकृत नागरिकता लिँदा तीन हजार ३४० जनाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गरेका छन्।

नेपालको संविधान को धारा १४ मा गैरआवासीय नेपाली नागरिकतासम्बन्धी व्यवस्था गरिएको छ। उक्त व्यवस्थाअनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रबाहेक अन्य देशमा बसोबास गर्ने तथा पूर्वमा वंशज वा जन्मका आधारमा नेपाली नागरिक रहेका वा तिनका बाबु–आमा, बाजे–बज्यै नेपाली नागरिक रहेका व्यक्तिले पछि विदेशी नागरिकता लिएको अवस्थामा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने उल्लेख छ।

यस व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल नागरिकता ऐन (संशोधन) २०८० जारी भई जेठ १७ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो। त्यसपछि २०८० असोज ३० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र बद्री केसी लाई नागरिकता प्रदान गर्दै वितरण प्रक्रिया सुरु गरेका थिए।

कानुनी व्यवस्थाअनुसार गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपभोग गर्न पाउनेछन्। तर उनीहरूले नेपाली राहदानी लिन, सरकारी सेवामा प्रवेश गर्न, निर्वाचनमा उम्मेदवार बन्न तथा मतदान गर्न भने पाउने छैनन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट