रास्वपाको चुनावी वाचापत्र सार्वजनिक, मध्यम वर्गलाई महत्व दिएको दाबी [पूर्णपाठ]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘वाचापत्र’ सार्वजनिक गरेको छ । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभामाझ रास्वपाले चुनावी वाचापत्र सार्वजनिक गरेको हो ।
चुनावी सभाकै बीचमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह(बालेन), उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेसहितका नेताहरूले संयुक्त रूपमा रास्वपाको चुनावी वाचापत्र सार्वजनिक गरे । रास्वपाले आफ्नो वाचापत्रमा मध्यम वर्गलाई महत्व दिएको दाबी गरेको छ ।
जसमा रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधारहरू समावेश गरिएको छ । ‘थिति बसाल्ने सङ्कल्प’ नारासहित बिहीबार सर्खेतबाट सार्वजनिक गरिएको बाचापत्रमा शासकीय सुधार, भ्रष्टाचार नियन्त्रण, डिजिटल सुशासन र चुस्त सेवा प्रवाहलाई मुख्य प्राथमिकता दिइएको छ।
बाचापत्रमार्फत रास्वपाले सार्वजनिक सेवा लिन जनताले लाइन बस्नुपर्ने बाध्यता हटाई ‘लाइन होइन, अनलाइन’ प्रणाली लागू गर्ने, सरकारी कार्यालयमा बिचौलियाको अन्त्य गर्ने र राष्ट्रिय परिचयपत्रलाई एकीकृत सेवाको आधार बनाउने प्रतिबद्धता जनाएको छ।
भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा वि.सं. २०४६ सालयता सार्वजनिक पद धारणा गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने र भ्रष्टाचारका फाइलहरू खोल्ने कठोर नीति लिइने उल्लेख छ। साथै, पार्टीले कुनै पनि प्रकारका भातृ सङ्गठन नखोल्ने र शिक्षा, स्वास्थ्य तथा सार्वजनिक संस्थानहरूलाई दलीय राजनीतिबाट पूर्ण रूपमा मुक्त गर्ने घोषणा गरेको छ।
अर्थतन्त्रतर्फ डिजिटल अर्थतन्त्र, स्टार्टअप प्रवर्द्धन र ‘मेक इन नेपाल’ अभियानलाई प्राथमिकता दिँदै उत्पादनमुखी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिइएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई मतदानको अधिकार (आई–भोटिङ) सुनिश्चित गर्ने र ‘एक पटकको नेपाली, सधैँको नेपाली’ अवधारणा अनुरूप गैर–आवासीय नेपालीलाई अधिकार सम्पन्न गराउने विषयलाई पनि रास्वपाले प्राथमिकताका साथ उठाएको छ। वातावरण संरक्षण, पूर्वाधार विकास र सामाजिक न्यायसहितका विषयलाई समेटेर रास्वपाले समुन्नत नेपालको खाका प्रस्तुत गरेको छ।
हेर्नुहोस् रास्वपा वाचापत्रको पूर्णपाठ :
https://drive.google.com/file/d/1-5Nfv8uk_Af_5qQN57zSuRJ3ObTnsIjV/view?usp=sharing
क्याटेगोरी :
राजनीति








![रास्वपाको चुनावी वाचापत्र सार्वजनिक, मध्यम वर्गलाई महत्व दिएको दाबी [पूर्णपाठ]](https://ap-south-1.linodeobjects.com/samayabaddha.com/2026/02/raswapa-bachapatra-1024x500-1-180x180.jpg)









प्रतिक्रिया