जिम्बावेमाथि सहज जितपछि भारतको सेमिफाइनल सम्भावना कायमै
काठमाडौं । ट्वान्टी–२० विश्वकपको सुपर आठको दोस्रो खेलमा भारतले जिम्बावेमाथि सहज जित निकालेको छ । जिम्बावेमाथि ७२ रनको जितसंगै भारतको सेमिफाइनल पुग्ने सम्भावना बढेको छ ।
ओपनर अभिषेक शर्मा र हार्दिक पाण्ड्याको आक्रामक अर्धशतकमा भारतले बिहीबारराती ट्वान्टी–२० विश्वकपमा कीर्तिमानी स्कोर बनाएको थियो । समान २ अंक भएका भारत र वेस्ट इन्डिजबीच हुने अन्तिम खेलको विजेताले ग्रुप वानबाट सेमिफाइनलमा स्थान बनाउने छ ।
जिम्बावे लगातार दोस्रो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ । चेपकमा टस हारेर ब्याटिङ निम्तो पाएको घरेलु टोली भारतले ४ विकेट गुमाई २ सय ५४ रनको उच्च स्कोर बनाएको थियो ।
वेस्ट इन्डिजले सोमबार जिम्बावेविरुद्ध २५४–६ को स्कोर बनाएको थियो । यो स्कोर ट्वान्टी–२० विश्वकपको दोस्रो उच्च स्कोर हो ।
भारतका अभिषेकले ३० बलमा ५५ रन बनाए । उनले समान ४ चौका र छक्का प्रहार गरे । सामसनले १५ बलमा १ चौका र २ छक्कासहित २४ तथा किशनले २४ बलमा ४ चौका र १ छक्कासहित ३८ रन बनाए ।
हार्दिकल् २३ बलमा ५० रन बनाई अविजित रहे । हार्दिकले २३ बलमा २ चौका र ४ छक्का प्रहार गरे । ३ चौका र ४ छक्का प्रहार गरेका तिलक १६ बलमा ४४ रन बनाई अविजित रहे ।
जिम्बावेका ब्रायन बेनेटले ५९ बलमा ८ चौका र ६ छक्काको मद्वतमा अविजित ९७ रन बनाए पनि हार टार्न सकेनन् । जिम्बावेले ६ विकेट गुमाई १ सय ८४ रनमात्र बनाउन सक्यो ।
कप्तान सिकन्दर राजाले २१ बलमा समान २ चौका र छक्काका साथ ३१ तथा टाडिवानासे मारुमानीले २० रन जोडे । भारतका अर्शदिप सिंहले ४ ओभरमा २४ रनमात्र खर्चेर ३ विकेट लिए । वरुण चक्रवर्ती, अक्षर पटेल र शिवम दुबेले समान १ विकेट लिए ।
जिम्बावेमाथि भारतको फराकिलो जित, सेमिफाइनल सम्भावना कायमै छ ।
क्याटेगोरी :
खेलकुद


















प्रतिक्रिया