सरकारी ऋणकाे भार थपिँदै, तिर्न बाँकी २८ खर्ब ५८ अर्ब नाघ्यो
काठमाडौं । तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गएकाे माघ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको शुरूमा २६ खर्ब ७४ अर्ब चार करोड रहेकामा माघ मसान्तसम्ममा एक खर्ब ८४ अर्ब ९३ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ५८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । याे कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ८१ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
अहिलेसम्म तिर्न बाँकीमध्ये आन्तरिक ऋण दायित्व १३ खर्ब ४९ अर्ब १३ करोड र बाह्य ऋण दायित्व १५ खर्ब नौ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । कुल सार्वजनिक ऋणमा माघ मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ८१ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७ दशमलव १९ प्रतिशत रहेको छ ।
चालू आर्थिक वर्षमा सरकारले पाँच खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकाेमा माघ मसान्तसम्ममा दुई खर्ब ५५ अर्ब ४८ करोड रुपैयाँ प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा अहिलेसम्मको कुल सार्वजनिक ऋण प्राप्ति ४२ दशमलव ८९ प्रतिशत हो ।
यस वर्ष आन्तरिकतर्फ तीन खर्ब ६२ अर्ब ऋण उठाउने सरकारी लक्ष्य रहेकामा ६० दशमलव १३ प्रतिशत अर्थात् दुई खर्ब १७ अर्ब ६६ करोड उठिसकेको छ भने एक खर्ब ४४ अर्ब ३३ करोड रुपैयाँ प्राप्ति हुन बाँकी छ ।
त्यस्तै बाह्य ऋणतर्फ दुई खर्ब ३३ अर्ब ६६ करोड उठाउने लक्ष्य रहेकामा अहिलेसम्म वार्षिक लक्ष्यको १६ दशमलव १८ प्रतिशत अर्थात् ३७ अर्ब ८१ करोड प्राप्त भइसकेको छ भने एक खर्ब ९५ अर्ब ८४ करोड रुपैयाँ प्राप्त हुन बाँकी रहेको छ ।
त्यस्तै सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि सरकारले यस वर्ष चार खर्ब ११ अर्ब एक करोड विनियोजन गरेकामा माघ मसान्तसम्ममा दुई खर्ब तीन अर्ब ६५ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ४९ दशमलव ५५ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादनका आधारमा माघ मसान्तसम्ममा कुल ऋण सेवा खर्च तीन दशमलव ३३ प्रतिशत रहेको छ ।
क्याटेगोरी :
अर्थ



















प्रतिक्रिया