निर्वाचनपछि सरकार गठन प्रक्रिया : कति समय लाग्छ ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै अबको मुख्य चासो सरकार गठनतर्फ केन्द्रित भएको छ। मतदान शान्तिपूर्ण रूपमा सकिएपछि मतगणना सुरु हुन्छ र प्रत्यक्षतर्फको गणना सकेपछि समानुपातिकतर्फको मतगणना गरिन्छ।
मतगणना सम्पन्न भएपछि निर्वाचन आयोग ले समानुपातिक सिट बाँडफाँट गरी अन्तिम नतिजा सार्वजनिक गर्छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार नतिजा घोषणा भएको सात दिनभित्र आयोगले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ।
आयोगबाट प्रतिवेदन राष्ट्रपतिसमक्ष पुगेपछि सरकार गठन प्रक्रिया औपचारिक रूपमा सुरु हुन्छ। संविधानको धारा ७६ अनुसार प्रधानमन्त्री नियुक्तिको चरणबद्ध प्रक्रिया अघि बढ्छ।
यदि कुनै एक दलले स्पष्ट बहुमत ल्याएको अवस्थामा राष्ट्रपतिले सोही दलको संसदीय दलका नेतालाई धारा ७६(१) बमोजिम प्रधानमन्त्री नियुक्त गर्नेछन्। यस्तो अवस्थामा सरकार गठन प्रक्रिया तुलनात्मक रूपमा छिटो टुंगिन सक्छ।
तर, कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न नसकेमा धारा ७६(२) अनुसार दुई वा बढी दलको समर्थन जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिले आह्वान गर्नेछन्। यसक्रममा दलहरूबीच सहमति र गठबन्धनका लागि समय लाग्न सक्छ।
संविधानको धारा ९३(१) अनुसार अन्तिम परिणाम घोषणा भएको एक महिनाभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान छ। त्यसैले अन्तिम नतिजा सार्वजनिक भएको मितिदेखि करिब एक महिनाभित्र नयाँ सरकार गठनको प्रक्रिया टुंगोमा पुग्ने संवैधानिक व्यवस्था रहेको छ।
क्याटेगोरी : राजनीति


















प्रतिक्रिया