Techie IT
Samayabaddha
सोमबार, ४ जेठ, २०८३

खाडी क्षेत्रमा रहेका करिब १६ हजार नेपालीहरूको विवरण सङ्कलन


काठमाडौं । खाडी तथा पश्चिम एशियामा उत्पन्न तनावपूर्ण परिस्थितिपछि त्यहाँ रहेका नेपाली नागरिकको अवस्थाबारे सरकारले नियमित रूपमा विवरण सङ्कलन गरिरहेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म करिब १६ हजार नेपालीले आफ्नो व्यक्तिगत विवरण दर्ता गराइसकेका छन्।

मन्त्रालयले सम्भावित आपतकालीन अवस्थालाई ध्यानमा राख्दै उद्धारका लागि विशेष टोली गठन गरेको जनाएको छ। साथै २४ सै घण्टा आकस्मिक कन्ट्रोल कक्ष सञ्चालन, विमानस्थल ट्रान्जिटमा रहेका नेपालीहरूको व्यवस्थापन, भिसा सहजीकरण तथा श्रमिकहरूको सुरक्षासम्बन्धी समन्वय गर्ने तयारी गरिएको छ।

सरकारले खाडी देश तथा पश्चिम एशिया क्षेत्रमा रहेका करिब १८ लाख नेपालीको सुरक्षा, संरक्षण र हितप्रति आफू पूर्ण रूपमा संवेदनशील र प्रतिबद्ध रहेको जनाएको छ। साथै अपुष्ट सूचना वा अफवाहमा नपरी आधिकारिक जानकारीमात्रै विश्वास गर्न र आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ।

गत शनिबार अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि तथा त्यसको प्रत्युत्तरमा इरानले प्रतिआक्रमण गरेपछि पश्चिम एशियाको अवस्था तनावग्रस्त बनेको छ।

यसैबीच मन्त्रालयले खाडी क्षेत्रका नेपाली नागरिकलाई द्वन्द्वसम्बन्धी जानकारी दिन तथा समन्वय कायम गर्न अनलाइन पोर्टलमार्फत फाराम भर्ने व्यवस्था गरेको छ। उक्त पोर्टलमा रहेका नेपालीहरूले आफूलाई परेको समस्या वा जिज्ञासाबारे जानकारी गराउन सक्नेछन्।


क्याटेगोरी : समाचार


प्रतिक्रिया


ताजा अपडेट