माथिल्लो डोल्पाको मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग गरिने
काठमाडौं । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाका २३ मतदान केन्द्रबाट हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम ल्याइने भएको छ ।
दुर्गम भूगोल र सडक पहुँच नहुँदा मतपेटिका सुरक्षित रूपमा ढुवानी गर्न हेलिकप्टर प्रयोग गर्न लागिएको हो ।
ती मतदान केन्द्रबाट संकलित मतपेटिका सदरमुकाम दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने जनाइएको छ । मतपेटिका ओसारपसारका लागि हेलिकप्टर जिल्लामा आइपुगेको र शुक्रबार बिहानदेखि मतपेटिका ढुवानी कार्य सुरु गरिने जनाइएको छ ।
माथिल्लो डोल्पाका मतदान केन्द्रहरू अत्यन्त दुर्गम र उच्च हिमाली क्षेत्रमा पर्ने भएकाले सडक मार्गबाट मतपेटिका ल्याउन सम्भव नभएकाले हवाई माध्यम प्रयोग गर्न लागिएको छ ।
माथिल्लो डोल्पाका मतदान केन्द्रका लागि आवश्यक निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी लगायतको टोलीलाई समेत दुई हेलीकप्टरको प्रयोग गरी मतदान केन्द्रमा पठाइएको थियो ।
प्रशासनले पहिला मतपेटिका र सम्बन्धित मतदान केन्द्रका अधिकृतलाई सदरमुकाम ल्याइने र पछि मतदान केन्द्रमा खटिने कर्मचारी ल्याइने समेत जनाइएको छ ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया