कांग्रेसका शीर्ष नेता चुनावमा पराजित : महामन्त्रीदेखि सहमहामन्त्रीसम्म सबै हारमा
काठमाडौं । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस २०८२ साल फागुन २१ मा सम्पन्न निर्वाचनमा कमजोर प्रदर्शन गर्दै आएको देखिएको छ।
विशेष महाधिवेशनबाट शेरबहादुरलाई विस्थापित गर्दै सभापति बनेका गगन थापा सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित हुँदा पार्टीका अन्य पदाधिकारीले पनि हार व्यहोरेका छन् । सभापति थापा रास्वपा उम्मेदवार सिंहसँग १३ हजार बढी मतान्तरले पराजित भए ।
दुई महामन्त्री पनि पराजित
मोरङ–४ मा कांग्रेस महामन्त्री गुरुराज घिमिरे रास्वपा उम्मेदवार सन्तोष राजवंशीसँग पराजित हुँदा अर्का महामन्त्री प्रदीप पौडेल काठमाडौं-५ मा रास्वपाका सस्मित पोखरेलसँग हार व्यहोर्न बाध्य भए ।
५ सहमहामन्त्री पनि पराजित
कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुर बारा क्षेत्र नम्बर–३ बाट रास्वपाका अरविन्द शाहसँग पराजित हुँदा अर्का सहमहामन्त्री ‘डिना’ उपाध्याय मकवानपुर-१ मा रास्वपाका प्रकाश गौतमसँग करिब २२ हजार मतान्तरले पराजित भइन् ।
ललितपुर–१ बाट चुनावी भिडन्तमा कांग्रेस सहमहामन्त्री उदय शमशेर राणा रास्वपा उम्मेदवार बुद्धरत्न महर्जनसँग करिब १० हजार मतान्तरले पराजित भए ।
डोल्पा–१ बाट चुनावी भिडन्तमा कांग्रेस सहमहामन्त्री कर्णबहादुर बुढा पराजित भएका छन् । उनी नेकपाका बुढासँग पराजित भएका हुन् । उनी प्रतिस्पर्धामा तेस्रो बने ।
दाङ–१ बाट चुनावी मैदानमा रहेका अर्का सहमहामन्त्री योगेन्द्र चौधरी पनि पराजित भएका छन् । उनी पनि रास्वपा उम्मेदवार वेदराज पाठकसँग पराजित भए । चौधरी २७ हजार मतान्तरले पारजित भए ।
बझाङ–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका कांग्रेस सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ एमाले उम्मेदवार ऐनबहादुर महरसँग २२ सय मतान्तरले पराजित भए ।
क्याटेगोरी :
राजनीति


















प्रतिक्रिया