भारतले तेस्रोपटक जित्यो ट्वान्टी–२० विश्वकपको उपाधि
अहमदाबाद । भारतले तेस्रोपटक ट्वान्टी–२० विश्वकपको उपाधि जितेको छ । न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै भारतले तेस्रोपटक ट्वान्टी–२० विश्वकपको उपाधि जितेको हाे ।
दुई सय ५६ रनको विशाल लक्ष्य पछयाएको न्युजिल्यान्ड १९ ओभरमा १ सय ५९ रनमा अलआउट भयो । तेस्रोपटक विश्व कप जित्ने पहलाे मुलुक बनेको भारतले आयोजक राष्ट्रले विश्व कप जित्ने रेकर्ड पनि बनाएको छ ।
दोस्रोपटक फाइनल पुगेको न्युजिल्यान्ड यस पटक पनि रिक्ताे हात फर्केको छ । न्युजिल्यान्डका ओपनर टिम सेइफर्टले २६ बल खेलि २ चौका र ५ छक्कासहित ५२ तथा कप्तान मिचेल सान्टनरले ३५ बल खेलि ३ चौका र २ छक्कासहित ४३ रन बनाए ।
भारतको जस्प्रित बुमराहले ४ ओभरमा १५ रनमात्र खर्चेर ४ र अक्षर पटेलले ३ ओभरमा २७ रनमात्र खर्चेर ३ विकेट लिए । भारत उपाधि रक्षा गर्ने पहिलो टोलीसमेत बनेको छ । दुई वर्ष अघि वेस्ट इन्डिजमा भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेकाे भारतका सञ्जु सामसनले ४६ बलमा ८९ रन बनाएपछि भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाई २ सय ५५ रन बनाएको थियो । पछिल्ला दुई इनिङ्समा क्रमशः अविजित ९७ र ८९ रन बनाएका सामसनले ५ चौका र ८ छक्का प्रहार गरे ।
भारतले ६ ओभरको पहिलो पावर प्लेमै विना क्षती ९२ रन जोडेकाे थियाे । सामसन र अभिषेक शर्माले पहिलो विकेटमा ९८ रनको साझेदारी गरेपछि भारतले यस विश्वकपमा आफ्नो दोस्रो उच्च स्कोर बनाएको थियो ।
जिम्बावेविरुद्धको ‘सुपर एट’ को खेलमा पनि भरतीय टोलीले २ सय ५८ रन बनाएको थियो
क्याटेगोरी :
खेलकुद



















प्रतिक्रिया