निरन्तर दोस्रो कारोबार दिन घट्यो नेप्से, कारोबार रकम १३ अर्ब १८ करोड
काठमाडौं । बुधबार नेप्से परिसूचक उच्च अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक ४६.७८ अंक घटेर २७९६.५७ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। मंगलबार २१ अर्ब ५० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२९ स्टकको १ लाख १५ हजार ५५० पटकको कारोबारमा १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँबराबरको ३ करोड ६० लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३।४० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८५ करोड ९४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको ५१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम साढे ४९ करोड रुपैयाँ नाघेको छ।
यस दिन सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लागेको छ । सो बैंकको शेयरमूल्य यस दिन ७८ रुपैयाँ ४० पैसा बढेर ८६२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन नेशनल हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
क्याटेगोरी :
अर्थ



















प्रतिक्रिया