Techie IT
Samayabaddha
बिहीबार, २८ फागुन, २०८२

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति


काठमाडौँ । चालु आर्थिक वर्ष २०८२र८३ को माघ मसान्तसम्ममा बाह्य क्षेत्र सकारात्मक अवस्थामा देखिएको छ । यो अवधिसम्ममा मुलुकको चालु खाता र शोधनान्तर उच्च बचतमा छ भने १८ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२र८३ को माघ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता रु चार खर्ब ९३ अर्ब ७८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ८४ अर्ब १४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ३७ करोडले बचतमा रहेको चालु खाता यस वर्ष तीन अर्ब ४७ करोडले बचतमा रहेको छ ।

त्यस्तै गत माघ मसान्तसम्ममा खुद पुँजीगत ट्रान्सफर रु ११ अर्ब ४३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु पाँच अर्ब ८३ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु १० अर्ब २२ करोड प्रत्यक्ष वैदेशिक लगानी ९इक्विटी मात्र० भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी रु सात अर्ब ४३ करोड रहेको थियो । राष्ट्र बैंकका अनुसार यो अवधिमा शोधनान्तर स्थिति रु पाँच खर्ब ७२ अर्ब ७३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ८४ अर्ब ४१ करोडले बचतमा रहेको थियो ।

गत असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पछिल्लो सात महिनामा २३ दशमलव तीन प्रतिशतले वृद्धि भई रु ३३ खर्ब दुई अर्ब ६६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ माघ मसान्तमा १६ दशमलव सात प्रतिशतले वृद्धि भई २२ अर्ब ७६ करोड पुगेको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ माघ मसान्तमा २१ दशमलव दुई प्रतिशतले वृद्धि भई रु २९ खर्ब २६ अर्ब ९९ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु दुई खर्ब ६३ अर्ब चार करोड रहेकोमा २०८२ माघ मसान्तमा ४२ दशमलव आठ प्रतिशतले वद्धि भई रु तीन खर्ब ७५ अर्ब ६७ करोड कायम भएको छ ।

गत माघ मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव पाँच प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको सात महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१ दशमलव तीन महिनाको वस्तु आयात र १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया


ताजा अपडेट